Logo

३१ असार,वीरगञ्ज । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री परिषदमा पर्साबाट मन्त्री बनेका तीन जना मध्य दुईजनाको संयोग निकै रोचक छ । पर्साको तीनवटै क्षेत्रका सांसदहरु ओलीको मन्त्री परिषदमा अटाएका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका अजय कुमार चौरसिया कानून न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । उनी राजाको प्रत्यक्ष शासनकाल अघिको देउवा नेतृत्वको सरकारमा स्थानीय विकास सहायक मन्त्री रहेका थिए । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद राजकुमार गुप्ता ओली क्याबिनेटमा नयाँ अनुहार हुन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका चौरसिया र एमालेका गुप्ता पहिलेदेखि नै राजनीतिका कडा प्रतिस्पर्धी हुन् । पहिलो संविधानसभा निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका चौरसियालाई दोश्रो संविधानसभा निर्वाचनमा राजकुमार गुप्ताले पराजित गरेर बदला लिए । चौरसिया र गुप्ताको घर पनि एउटै टोलमा रहेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपूरको ओम आश्रम रोडमा चौरसियाको घर पर्छ । त्यहि बाटोबाट भारतीय महावाणिज्यदूतावासतर्फ मोडिने सडकमा गुप्ताको घर पर्छ । दोश्रो संविधानसभामा निर्वाचित भएपछि गुप्ताले आफूले पराजित गरेका चौरसियाकै घरको बाटोबाट विजयी जुलुश लिएर गएका थिए । त्यसपछि चौरसिया र गुप्ताबीच राजनीतिक तुष अझ बढेको थियो ।

संयोग नै भनौ कांग्रेस र एमालेको गठबन्धनमा बनेको ओली नेतृत्वको सरकारमा चौरसिया र गुप्ता मन्त्री परिषदमा सँगै परेका छन् ।


सम्बन्धित समाचार