३१ असार, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले परवानीपुरबाट लुकाई राखेको ७० रासायनिक मल बरामद गरेको छ । प्रहरी चौकी परवानीपुरको सामुन्ने रहेको दीपेश साहको पसलमा लुकाएर राखेको ७० बोरा डीएपी र युरिया रासायनिक मल जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आज साँझ पौने सातबजे बरामद गरेको हो ।
कृषि सहकारी मार्फत किसानहरुलाई रासायनिक मल वितरण गर्ने व्यावस्था भएपनि कृषि सहकारीका सञ्चालकहरुले स्थानीय जनप्रतिनिधिको मिलेमतोमा रासायनिक मलको कालोबजारी गर्ने गरेका छन् । परवानीपुरमा बरामद गरिएको उक्त रासायनिक मल पनि कृषि सहकारीबाट किसानलाई वितरण नगरी कालोबजारी गरेर बिक्री गर्न पसलमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
रासायनिक मल वितरणमा स्थानीय जनप्रतिनिधिको सिफारिस आवश्यक हुने भएकोले मल वितरण गर्ने कृषि सहकारी संस्थामा रासायनिक मल नहुनु र व्यक्तिको पसलमा ७० बोरा मल एकै ठाउँमा फेला पर्नुले पनि रासायनिक मल कालाबजारीमा वडाका जनप्रतिनिधिहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।
मल लुकाएर राखेको सूचना पाएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गाडी सहित लिएर गएर मल नियन्त्रणमा लिएर लगेको परवानीपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक हेम बहादुर पनेरुले जानकारी दिए ।
स्थानीय वडाका जनप्रतिनिधिहरुको मिलेमतो विना व्यक्तिले पसलमा त्यति धेरै परिमाणको मल राख्न नसक्ने स्थानीयको बुझाई छ । उनीहरुले पनि मल लुकाउनुमा जनप्रतिनिधिको संलग्न हुनसक्ने आशंका गरेका छन् ।