Logo

१ साउन,काठमाडौं । समाजवादी मोर्चाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिने एकीकृत समाजवादीका नेता प्रमेश हमालले लोकान्तरलाई जानकारी दिए । साथै मोर्चाका आगामी रणनीति र योजनाका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

पछिल्लो समय ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मोर्चा सक्रिय बनाउने चुनौती थपिएको छ ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।
आज बैठकको अध्यक्षता नेकपाका महासचिव विप्लवले गर्ने हमालले बताए ।

यसअघि मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि थियो । तर पार्टी फुटेपछि अलग भएको छ । आजको बैठकमा कुन–कुन दल समावेश हुन्छन् स्पष्ट नभएको नेता हमालको भनाइ छ । तर माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा भने सहभागी हुने निश्चित भएको उनले बताए ।

 

 


सम्बन्धित समाचार