Logo

२ साउन, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गरेका छन् ।

तीनै जना वीरगंज महानगरपालिका वडा नं.१६ का रहेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले बुधबार बिहान भेट गरेर पीडित परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

पहिरोमा परि त्रिशुली नदीमा खसेको एञ्जल डिलक्स बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पणित रहेका थिए ।

नदीमा खसेको बस र यात्रुको खोजी कार्य जारी रहेको भएपनि उनीहरु अहिलेसम्म फेला पर्न सकेको छैन । २ छोरा, १ छोरी र श्रीमती रहेका चालक जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए ।

घरको मूली जवाहिर नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताए ।

परिवारको जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए । यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पडितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू रहेको बताए ।

यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पंडितको परिवारलाई पनि मेयर सिंहले भेट गरेका छन् । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।

भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।


सम्बन्धित समाचार