Logo

२ साउन,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्रका सामुदायिक विद्यालयमा विज्ञान संकाय पढ्ने विद्यार्थीलाई पूर्ण छात्रबृती प्रदान गर्ने नीति ल्याएको छ ।

नगर प्रमुख राजन पौडेलले आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा समेटेको सो कार्यक्रमबाट उपमहानगर भित्र विज्ञान संकाय सञ्चालन गरेका दुई विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।

उपमहानगरको वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा ४० जना र वडा नम्बर ५ मा रहेको नेरामावि बकुलीयामा २० जना विद्यार्थी भर्ना हुने गरेका छन् । उपमहानगरपालिकाले विज्ञान संकायमा पढ्ने कक्षा ११ का विद्यार्थीलाई पुर्ण छात्रबृती उपलब्ध गराउन आ।व। २०८१।८२ को बजेटमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले उपलब्ध गराउने अनुदान रकमबाट ६० विद्यार्थीले अध्ययन गर्न सक्ने नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्यले बताए । स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी प्रोत्साहनका लागि ल्याईएको नीति सकारात्मक रहेपनि यसको निरन्तरताकाा लागि उपमहानगरले ध्यान दिनुपर्ने प्रधानाध्यापक आचार्यको भनाई छ ।

यस्तै पहिलोपटक उपमहानगरपालिकाले एमफिल तथा पिएचडी छात्रबृती कार्यक्रम ल्याएको छ । जसका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी बर्षहरुमा यसको रकम बृद्धि गर्दै जाने योजना बनाईएको नगर प्रमुख राजन पौडेलले बताए ।


सम्बन्धित समाचार