Logo

३ साउन, वीरगञ्ज । बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाका वडाअध्यक्ष सहितलाई जिल्ला अदालत बाराले सजायको फैसला गरेको विषयमा समाचार लेखेकै निहुँमा पत्रकार यादव विरुद्ध समाजिक सञ्जाल मार्फत अपमानजनक शब्द प्रयोग गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ “जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिलगुप्ता सहित ६ जनालाई अपराधिक उपद्रव मुद्दामा एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला गरेको विषयमा समाचार लेखेकै आधारमा सीता उप्रेती नामको फेसबुक पेजमा पत्रकार रञ्जन यादवलाई व्यक्तिगत लाञ्छना लगाउने र गाली बेईज्जती गर्नु खेदजनक छ ।”

विज्ञप्तीमा अदालतले गरेको फैसलाको विषयमा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष समेत रहेका पत्रकार यादवले समाचार लेख्दा सामाजिक सञ्जालमा अपमानजनक र अशोभनीय शब्दहरु प्रयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने जनप्रतिनिधिबाट आमजनताले कस्तो आशा अपेक्षा गर्ने ? भनी प्रश्न समेत गरिएको छ ।

प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्थानीय सरकारको जिम्मेवार पदमा बस्ने व्यक्तिले सामाजिक सञ्जालमाप्रयोग गरेको भाषा, शैली र शब्द मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ को गाली बेइज्जती सम्बन्धी कसूर तथा साईबर अपराधको कानून समेत आकर्षित हुने उल्लेख गर्दै दोषीलाई हदैसम्मको कानूनी कारवाहीको जोडदार माग गरेको छ ।

यसैबीच प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाले यादवका विरुद्ध सामाजिक सञ्जालमा प्रयोग गरिएको भाषा, शैली र शब्दले व्यक्तिगत मान हानी भएकोले त्यसको कानूनी उपचार खोजिनुपर्ने बताए ।

उनले सार्वजनिक पदमा बस्ने जनप्रतिनिधिले नै अपशब्द प्रयोग गरेर सामाजिक सञ्जालमा व्यक्तिको चरित्रमाथि नै आँच आउने गरी लेखिएको विषय भत्र्सना योग्य रहेको बताए ।

त्यस्ता व्यक्तिहरुलाई कानूनी कठघरामा ल्याउनुपर्ने उनको माग छ ।


सम्बन्धित समाचार