Logo

३ साउन, वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष ०८०/८१ मा ८ हजार ७४ वटा अर्थात् ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छौट गरेको छ । यो तथ्यांक गत आ.व. ०७९/८० भन्दा ९ दशमलव ३५ प्रतिशतले बढी हो । विगत ५ वर्षकै अवस्था नियाल्दा गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी मुद्दा फर्छौट भएको देखिन्छ ।

आ.व.०७६/०७७ मा जम्मा ४०.०२ प्रतिशत मुद्दा फर्छौट भएकोमा आ.व.०७७/०७८ मा ४०.४४ प्रतिशत, आ.व.०७८/७९ मा ४६.०६ प्रतिशत र आ.व. ०७९/०८० मा १० प्रतिशतले बढेर ४७.६४ प्रतिशत मुद्दा फर्छौट भएको जिल्ला अदालत पर्साको तथ्याँकले देखाउँछ ।

२ वर्ष नाघेका मुद्धा गत वर्षको तुलनामा झन्डै आधाले घटेको छ । गत आ.व.मा ९०८ वटा त्यस्ता मुद्धा रहेकोमा यस आ.व.मा ४४३ वटा २ वर्ष नाघेका मुद्दा छन् । तुलनात्मक रुपमा हेर्दा आ.व.०७६/०७७ मा यस्ता मुद्दा जम्मा २५२ वटा रहेपनि त्यस पछिका वर्षमा यो संख्या बढ्दो अवस्थामा रहेको थियो । आ.व.०७७/०७८ मा ६६७ वटा, आ.व.०७८/७९ मा ७७९ वटा र आ.व. ०७९/०८० मा ९०८ वटा २ वर्ष नाघेका मुद्दा रहेकोमा यस वर्ष यो संख्या घटेको हो ।

त्यस्तै १८ महिना देखि २ वर्ष भित्रका मुद्दाहरु क्रमशः आ.व.०७६/०७७ मा जम्मा ४७७ वटा, आ.व.०७७/०७८ मा ६७१ वटा, आ.व.०७८/७९ मा ४२६ वटा, आ.व. ०७९/०८० मा ८१२ वटा रहेकोमा आ.व.०८०/०८१ मा त्यो संख्या ४३१ ले घटेर ३८१ वटा मात्रै रहेका छन् ।

पर्सा जिल्ला अदालतको विगत ५ वर्षको तथ्याँक नियाल्दा मुद्दा दर्ताको संख्या बढेको तथा जिम्मेवारीमा सर्ने मुद्दाको संख्या भने घटेको देखिन्छ । सो आर्थिक वर्षमा फर्छौट गर्न नसकिएका मुद्दाहरु अर्को आ.व.को जिम्मेवारीमा सर्ने गर्छ ।

त्यसरी जिम्मेवारीमा सर्दै आएका मुद्दाहरु क्रमशः आ.व.०७६/०७७ मा जम्मा ३ हजार २०४ वटा, आ.व.०७७/०७८ मा ४ हजार १२ वटा, आ.व.०७८/७९ मा ४ हजार ९६८ वटा, आ.व. ०७९/०८० मा ६ हजार ४१५ वटा रहेकोमा त्यो संख्या ४५० ले घटेर आ.व.०८०/०८१ मा ६ हजार ८६५ वटा मात्रै रहेका छन् ।

त्यसैगरि जिल्ला अदालतमा मुद्दा दर्ता हुने क्रम पनि आ.व.०८०/०८१ मा बढेको तथ्यांकले देखाउछ । गत आ.व.०७६/०७७ मा ३ हजार ४८५ वटा वटा नयाँ मुद्दा दर्ता भएकोमा आ.व.०७७/०७८ मा ४ हजार ३५० वटा, आ.व.०७८/०७९ मा ६ हजार ९२४, आ.व. ०७९/०८० मा ५ हजार ६९७ वटा रहेकोमा त्यो संख्या बढेर आ.व.०८०/०८१ मा ७ हजार ३०१ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यो संख्या गत वर्ष भन्दा ६०४ वटाले बढी हो ।


सम्बन्धित समाचार