Logo

४ साउन, काठमाडौं । बङ्गलादेशमा आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा देशको विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३८ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् ।

बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्तापक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा अहिलेसम्म ३८ जनाको मृत्यु भएको हो ।

हेर्नुहोस मृतक कहाँ हुन् : 

बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षण विरुद्ध आन्दोलन चर्किएको हो । सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ ।

सरकारले तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो । यसलाई प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुने भन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनरत छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको र यसबाट सयौं घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

बुधबार प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूलाई धैर्य राख्न र अदालतको फैसला कुर्न भनेका छन् । विद्यार्थीहरूले आफूहरू कुनै पनि राजनीतिक समूहबाट नभएको बताएका छन् । प्रदर्शन रोक्न सरकारले पनि जबाफी कारबाही गर्न थालेको हो । अश्रुग्यास र लाठीचार्ज गर्दा कतिपय विद्यार्थीहरू घाइते भएका हुन् ।

अहिले पारामिलिटरी ट्रुपहरू पनि विभिन्न जिल्लामा खटिएका छन् । त्यस्तै सरकार समर्थक विद्यार्थीहरू पनि सडकमा उत्रिँदा आन्दोलन थप चर्किएको हो । प्रदर्शन बढेर हिंसात्मक हुन लागेपछि बङ्गलादेशको विभिन्न ठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

यसरी प्रदर्शन हुँदा सरकारको नीतिको विरोध गर्नेहरूलाई प्रधानमन्त्री हसिनाले देशविरोधी भनेकी छन् । देशभरि नै प्रदर्शन जारी रहँदा अर्को सूचना जारी नहुँदासम्मका लागि सबै विद्यालय र विश्वविद्यालयहरू बन्द छन् ।

ढाकास्थित नेपाली दूतावासले पनि सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।


सम्बन्धित समाचार