Logo

४ साउन,काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच सिंहदरबारमा छलफल भएको छ । शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

‘कसरी बलियो प्रतिपक्ष भएर बस्ने भन्नेबारे प्रतिपक्षलाई अलि बढी चुनौती छ, त्यसकारण जनजिविकाका सवालमा साझा एजेण्डाहरु के कस्ता हुने भन्ने सवालको छलफल भएको छ’, उनले भने ।
यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेको सन्दर्भमा प्रतिपक्षी दलहरुबिच साझा धारणा बनाएर जाने बारेमा छलफल भएको उनको भनाइ थियो । उनले के के शर्तका आधारमा दुई दल मिलेको हो भन्नेबारे सत्ता पक्षले प्रष्ट पार्न सक्नुपर्ने पनि बताए ।

यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको भन्दै यसको भण्डाफोर गरिने बताए । उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको जिकिर गरे ।
पुनले प्रतिपरक्षमा रहेका दलहरुबिचको एकताको हिसाबले सशक्त ढंगले जनताको भावना र आवाजको प्रतिनिधित्व गर्ने तीन दलका नेताबिच समझदारी बनेको बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका सभापति लामिछानेसहित दोस्रो तहका नेताहरू समेत सहभागी थिए ।

 


सम्बन्धित समाचार