Logo

५ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित स्काइलाइन मलको जग्गामा विवाद रहेको भन्दै मलमा लगानी गरेका दुईवटा बाणिज्य बैकमा उजुरी परेको खुलासा भएको छ ।

चार वटा प्लटमा बनाइएको स्काइलाइन मलको जग्गा खरिदमा किर्ते गरिएको र उक्त जग्गाको हकभोग आफ्नो रहेको भन्दै निखत प्रवीण अन्सारीले उजुरी दिएपछि मलको जग्गा विवादमा आएको हो ।

चार वटा कित्ता भएको जग्गाधनी मध्येका एक निखत प्रवीण अन्सारीले मालपोत कार्यालय पर्सामा आफ्नो नाममा जग्गा हाल साबिक गर्न निवेदन दिएपछि स्काइलाइन मलको जग्गा सम्वन्धि विवाद बाहिर आएको हो ।

मालपोतमा प्रवीणले यही बैशाख ३ गते उच्च अदालतको परमादेश अनुसार जग्गा हाल साबिक गरिदिन निवेदन दिइन् । पर्सा मालपोत कार्यालयले जग्गाको विवादको सन्दर्भमा के भएको हो किटानी विवरण पठाउन वीरगञ्ज महानगरपालिका र नापी कार्यालय पर्सालाई पत्राचार गरेको थियो । नापी कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाले उकत जग्गा पशुपति आर्दश नगर निर्माण समितिले अधिग्रहणगरी विभिन्न व्यक्तिलाई विक्री गरेको जवाफ मालपोत कार्यालयलाई दिएका छन् ।

यता मलमा रहेको चार कित्ता जग्गा मध्ये एक कित्ताको दावी गर्दै आएकी बीरगन्ज महानगरपालिका निवासी निखत प्रवीणले नेपाल एसबीआइ बैंक र कु्मारी बैंकको केन्द्रीय कार्यालयमा आफ्नो व्यक्तिगत नाउँमा रहेको जग्गामा कसरी ऋण प्रवाह गरेको भन्दै निवेदन दिइन । यही १९ असारमा उनले दुइवटै बैंकको केन्द्रिय कार्यालयमा निवेदन दर्ता गराएकी हुन ।

उनले निवेदनमा बीरगन्ज साबिकको श्रीपुर ९ (ख) कित्ता नम्बर १०५ को ३ कट्ठा जग्गा आफ्नो नाममा हालसम्म कायम रहेको लेखेकी छन् ।

निवेदनमा उनले भनेकी छन्, ‘तपाइको बैंकले ऋण दिएको जग्गा मेरो नाममा छ, हाल साबिक गर्न मैले पटकपटक निवेदन दिएको छु । उच्च अदालतले मेरो नाममा हाल साबिक गर्न परमादेश पनि दिइसकेको छ ।’

अदालतको आदेशानुसार उक्त जग्गा हाल साबिकको प्रक्रिया रहेको उनी निवेदनमा लेखेकी छन् ।

दुइवटै बैंकमा दिइएको निवेदनमा उच्च अदालतबाट भएको आदेशको व्यहोरा उल्लेख गर्दै अरुको जग्गामा किर्ते गरी बनाइएको भवनमा दिइएको ऋण सम्बन्धित व्यक्तिसंग असुल गर्न उनको माग छ ।

उनले लेखेकी छन्, ‘मेरो नाममा रहेको जग्गा दुषित मनसायले मेरो नामको जग्गा कित्ता नम्बर परिवर्तन गराइ बैंकबाट ऋण लिएको जानकारी भयो, तर त्यो जग्गा ऋण लिनेहरुको होइन । अहिले हाल साबिकको प्रक्रियामा छ, त्यसकारण तपाइहरुले दिएको ऋण अविलम्ब फिर्ता लिनुहोस र मेरो जग्गा फुकुवा गरिदिनुहोस ।’ आफ्नो जग्गा फुकुवा नगरे दुइवटै बैंकविरुद्ध अदालती कारबाहीमा जाने बैंकमा दर्ता गराइएको निवेदनमा भनिएको छ ।

करिब डेढ सय करोड बैंकको ऋण

आदर्शनगरमा करिब ५ कट्ठा जग्गामा स्काइलाइन मलको भवन बनाइएको छ । केही व्यापारिक समूह र दुइवटा बैंकको ऋणमा करिब २ सय करोडको लगानीमा स्काइलाइन मल बनाइएको छ ।

स्काइलाइन मलमा व्यापारिक समूहबाट करिब ४० करोड र दुइवटा बैंकबाट १ सय ४० करोडको लगानी भएको स्रोतले जानकारी दिएको छ ।

स्काइलाइन मलका एक लगानीकर्ताका अनुसार नेपाल एसबीआइ बैंक र कुमारी बैंकबाट गरी करिब १ अर्ब ४० करोडको हाराहारीमा ऋण लगानी भएको छ । जसको लिडिङ बैंक नेपाल एसबीआइ बैंक रहेको स्रोतले जानकारी दिएको छ ।

लगानीको विषयमा सोध्दा दुइवटै बैंकले भने आफ्नो लगानीबारे मुख खोलेनन् । गोप्य विषय रहेको भन्दै दुइवटै बैंकका शाखा प्रमुखहरु पन्छिए । नेपाल एसबीआइ बैंक बीरगन्ज शाखाका प्रमुख राकेश महर्जनका अनुसार बैंकले दिएको ऋण राष्ट्र बैंक र अदालतबाट माग नभएसम्म अरु कसैलाई दिन नमिल्ने बताए ।

‘स्काइलाइन मलको जग्गामा किन ऋण दिएको भन्दै हामी कहाँ निवेदन आएको छ, यसको अनुसन्धान प्रक्रिया पनि सुरु भइसकेको छ । गलत भए नियमानुसनर कारबाही हुन्छ, भएन भने केही फरक पर्दैन, उनले भने, ‘अब त्यो नक्कली हो कि सक्कली हामीलाई जानकारी भएन, तर त्यसको बाबजुद पनि बैंकमा जब निवेदन आयो, हामीले तुरुन्तै छानविन सुरु गर्‍यौं ।’

कुमारी बैंक बीरगन्ज शाखा प्रमुख अमित सर्राफले बैंकबाट गएको ऋणको बारेमा बोल्न नमिल्ने बताए ।

जग्गा कसरी किर्ते भयाे ?

सावीक आदर्शनगर वडा नम्बर १३ स्थित करिब ५ कट्ठामा स्काइलाइन मलको संरचना खडा भएको छ । स्काइलाइन मल कित्ता नम्बर ७० र ५८ तथा ५४ र ५५ नम्बर मा बनेको छ ।

यसरी स्काइलाइन मलले हड्पेको यो कित्ता साबिकको श्रीपुर ९ (ख) कित्ता नम्बर १५ हो, जुन अहिले पनि रुकमुनी देबी केडियाको नाममा हाल साबिक कायम छ । त्यसैगरी ५४ र ५५ नम्बर कित्ता पनि स्काइलाइन मलभित्र परेको छ, जुन कित्तालाई उच्च अदालतले ०७५ सालमै निखत प्रवीणको नाममा हाल साबिक गर्न आदेश दिइसकेको छ ।

यद्यपी यो किर्तेको खेल भने ०४६ सालको नयाँ नापीबाट सुरु भएको थियो । त्यस बखत यी चार वटै कित्ता भएको जग्गा आदर्शनगर निर्माण समितिको प्लटबाट खरिद गरेको देखाएर हड्पेको देखिन्छ । नयाँ नापी हुँदा उक्त जग्गा आदर्शनगर विकास समितिको अधिग्रहणमा परेको भन्दै प्लट नम्बर ८४०, ८४१ र ८४२ जग्गा देखाएर नयाँ नापीबाट ८४० प्लट नम्बरको जग्गालाई ५४ नम्बर कित्ता, ८४१ नम्बरलाई ५५ नम्बर कित्ता, ८४२ लाई ५६ बनाएर लालपुर्जा बनाइएको पाइन्छ ।

यसरी लालपूर्जा हत्याइसकेपछि उक्त जग्गा स्काइलाइन मलको नाममा विक्री भएको मालपोत नयाँ लालपुर्जामा देखिन्छ । यद्यपी, महानगरले केही दिन अघि मात्रै मालपोतको नाममा लेखेको पत्रमा उक्त जग्गा आदर्शनगर विकास समितिभित्र पर्ने प्लटको रहेको प्रष्टरुपमा भनेको छ । तर महानगरपालिका तत्कालीन कर अधिकृत रामदयाल यादवले ०७२ साल ३ असारमा मालपोतको नाममा लागत उतार सम्बन्धमा एक पत्र लेख्दै साबिक श्रीपुर वडा नम्बर ९ मा पर्ने कित्ता नम्बर १०५ को क्षेत्रफल ०–३–० कट्ठा जग्गा २०२९ सालको अश्विन २ गतेको तत्कालीन श्री ५ सरकारद्वारा प्रकाशित भएको नेपाल राजपत्रमा उल्लेखित जग्गा अधिग्रणमा नपरी उल्लेखित राजपत्रमा प्रकाशित नभएको व्यर्होराको पत्र मालपोतलाई पठाएका थिए ।

तर जालझेल गरेर यही जग्गा आदर्शनगर विकास समितिको अधिग्रहणमा परेको भन्दै प्लट नम्बर ५४ नम्बर कित्ता, ८४१ नम्बरलाई ५५ नम्बर कित्ता, ८४२ लाई ५६ बनाएर लालपुर्जा बनाइएको देखिन्छ । यसैगरी अर्को कित्ता नम्बर ७० र ५८ को जग्गा स्काइलाइन मलले हड्पेको देखिएको छ । जग्गाधनीका नाती प्रदीप केडियाले आफ्नो जग्गामा किर्ते गरी स्काइलाइन मल बनाइएको बताए ।

उनले आफ्नो बज्यैको नाममा रहेको जग्गा आफू विक्री नगर्दा पनि अरुको नाममा गएको देखेर छक्क परेको बताए । आफ्नो जग्गा केही व्यक्तिबाट हड्पिएको जानकारी पाएपछि आफूहरु कानुनी प्रक्रिया सुरु गरिसकेको जनाए ।

यता स्काइलाइन मलका संचालकहरुले सर्लाही घर बताउने संजय ठाकुर नाम गरेको व्यक्तिले किर्ते कागज खडा गरेर बारम्वार दुख दिने गरेको बताए । नगर विकास समितिको प्लटलाई व्यक्तिको भनि नक्कली जग्गाधनी खडा गरेर पैसाको बार्गेनिग गरेको ती संचालकको भनाई छ । स्काईलाइन मलले संजय ठाकुर र नक्कली जग्गाधनी बनेकी निखत प्रवीण अंसारी विरुद्ध कानूनी उपचार खोज्ने प्रकृयामा रहेको जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार