Logo

५ साउन, वीरगञ्ज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने सबै जुट्नुको बिकल्प नभएको बताएका छन् ।

उनले राजनिती चुनावको बेला मात्र्र गर्न आग्रह गर्दै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो ।

महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले शनिबार वीरगंजमा वुमन क्रियशन को आयोजनामा व्यापार प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमको उदघाटन गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

हिजोको वीरगंज र आजको वीरगंजमा आमुल परिवर्तन भएपनि आफु सन्तुष्ट नभएको बताउदै उनले असम्भवलाई सम्भव बनाउने अभियानमा आफू जुटेको हुदा यसका लागि नगरबासीको हौसला, मेहनत र प्रतिबद्धता आवश्यक रहेको कुरामा जोड दिए ।

नगरप्रमुख सिंहले समाजसेवा र व्यापारमा मारवाडी समुदायका महिलाहरु खुलेर अगाडि आएको बताउदै मारवाडी समुदाय उद्योग व्यापारमा मेहनत र समर्पण भावले लागीपर्ने हुदा सफल हुने बताए ।

यो बर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको दाबी गर्दै राम्रोलाई राम्रो, ठिक लाई ठिक र गलतलाई गलत भन्न नसक्दा वीरगंंजको विकासले गतिलिन नसकेको बताए ।

नगरप्रमुख सिंहले राज्यलाइ १ खर्व ५८ अर्व राजश्वदिने वीरगंजलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्दै वीरगंजलाई राजश्व उठाउने केन्द्र मात्रै बनाईएको बताए ।

कार्यक्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पोको रुपमा स्थापित भएको दाबी गर्दै महिलाहको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगंजका महिलाहरु सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताए ।

कार्यक्रममा वीरगंज स्थित भारतीय महाबाणिज्य दूतावासका बाणिज्यदूत सञ्जय कुुमारले वीरगंजमा झण्डै २ हजार परिवार मारवाडी समुदायको बसोबास रहेको र उनीहरु उद्योग, व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गरे ।

वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रमपछि नगरप्रमुख सिंह लगायत वीरगंजका उद्योगी व्यबसायीहरुले प्रदर्शनी स्थलको अवलोकन गरेका थिए ।

वीरगंजको दियालो लडर््स होटलमा आयोजित कार्यक्रममा महिलाद्धारा उत्पादित घरेलु हस्तकलाका सामाग्री,खाद्य सामाग्री, श्रृंगार सामाग्री, तयारी कपडा, इलेक्ट्रोनिक सामान, फाष्टफुडका बिभिन्न परिकार सहितका स्टलहरु गरी ७० वटा स्टल राखिएको छ ।


सम्बन्धित समाचार