Logo

५ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निजी सचिव’मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार(भोली) देखि निजी सचिवको जिम्मेवारी सम्हाल्ने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।

यस अघिसमेत प्रधानमन्त्री ओलीको प्रशासन महाशाखा प्रमुख रही सकेका कुँवर लामो समय प्रदेश बसाई पनि केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा आएका थिए । प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव नियुक्त हुने उनी तेस्रो सहसचिव हुन् ।

यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्डले सहसचिव नवराज ढुङ्गानालाई निजी सचिव नियुक्त गरेका थिए । त्यसपछि उनलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाई पठाएसँगै ढुङ्गानाको ठाउँमा सहसचिव अर्जुन भण्डारी आए ।

मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा नमिलेको भन्दै त्यसलाई मिलाउनको लागि पनि सहसचिव कायम गरिएको थियो ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ ।

यसैगरी प्रधानमन्त्री ओलीको निजी उपसचिवमा विष्णु सुवेदी आएका छन् ।

को हुन् कुँवर
सहसचिव कुँवर इमान्दार छविका काम गर्ने कर्मचारीका रूपमा चिनिन्छन् । स्वास्थ्य मन्त्रालय आउनु अघि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, लोक सेवा र मुख्यमन्त्री कार्यालय गरी करिब तीन वर्ष प्रदेश सचिव बसेका कुँवर त्यसअघि आन्तरिक राजश्व विभागको महानिर्देशक १४ महिना बसे । त्यसअघि दुई पटक गरी करिब तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिताएका कुँवर सहसचिव भएपछि दुई वर्ष संघीय लोक सेवा आयोगमा काम गरेका थिए ।

पछिल्लो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा सिंहदरवार सुधार तथा सरसफाइ अभियान कुँवरकै अगुवाइमा थालनी भएको थियो । थोत्रा सवारी र जताततै फोहोरका डुङ्गुरले भरिएको सिंहदरवार परिसरलाई महिनौँ लगाएर सफाई गरिएको थियो । जसले सिंहदरवारको स्वरूप नै बदलेको थियो तर उनको सरुवासँगै सामान्य सरसफाईलाईसमेत निरन्तरता नदिँदा अहिले पुरानै लयमा फर्किएको छ ।


सम्बन्धित समाचार