Logo

६ साउन,काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई काँग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए ।

सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के–के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् ।

‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो । ल डिक्लियर गरौँ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ ?’, श्रेष्ठले भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’

उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् । साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन् ।


सम्बन्धित समाचार