Logo

६ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो शुरू प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत माग्नका लागि सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा रहेका सबै दलका प्रतिनिधिले विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिनेछन् । छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि संसद्मा मत विभाजन गरेर विश्वासको मत संकलन गरिने छ ।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका अतिरिक्त सत्तासाझेदार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा लगायतका दलले ओलीलाई विश्वासको मत दिने बताएका छन् ।

कांग्रेस र एमालेको मत नै सुविधाजनक बहुमत भए पनि ओलीले केही साना दलको समेत भोट लिएर दुई तिहाइको समर्थन जुटाउन कोशिश गरिरहेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

ओलीको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदलाई ह्विप लगाएको छ । राप्रपाले पनि ओलीको विपक्षमा मतदान गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार