Logo

६ साउन,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

कामचलाउ भएर एक छिन पनि बस्न नसक्ने बताउँदै उनले काँग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे ।

महराको राजीनामा पछि काँग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यसअघि काँग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुङ्गो लागेको थिएन ।

महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र काँग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।


सम्बन्धित समाचार