Logo

७ साउन, वीरगञ्ज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले मनसुनी वायुको प्रभाव देशभर रहेको छ।

सोमबार देशभरको मौसम साधारणतया बदली छ। बिहानै वीरगन्ज लगायतका आसपासका क्षेत्रमा फाटफुट पानी पनि परेकोछ । गण्डकी प्रदेशका केही स्थान तथा कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको छ। सोमबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


सम्बन्धित समाचार