Logo

७ साउन,वीरगञ्ज । मधेशमा पछिल्लो समय हतियारको बिगबिगी बढेको छ । प्रदेशका अधिकांश जिल्लाहरुबाट छ्यापछ्याप्ती साना तथा ठूला हतियारहरु बरामद हुन थालेका छन् ।

प्रदेश प्रहरीको अकर्मण्यताले खुलेआम हतियारको प्रयोग बढिरहेको प्रहरीको तथ्यांकले देखाइरहेको छ । यसरी विभिन्न जिल्लाबाट हतियार बरामद हुन थालेपछि सुरुक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाइदिएको छ । तरपनि प्रहरी भने मौन झै बसेको छ ।

यसको अन्य पाटोमा जानु भन्दा पहिला केही हतियार बरामद भएका घटनाहरु हेरौं ।
घटना–१
यही असार २० गते धनुषाबाट ‘मेड इन यूएसए’ लेखेको एक थान पेस्तोल बरामद भयो । धनुषाको मुखियापट्टी– मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोली बरामद ग¥यो ।
पेस्तोलसहित प्रहरीले भारत विहार बैरगिनिया बस्ने महम्मद अनवर खानलाई समेत नियन्त्रणमा लियो । पेस्तोलसहित पक्राउ परेका खानमाथि प्रहरीले हातहतियारको मुद्दामा अनुसन्धान चलाइरहेको छ ।

घटना–२
धनुषाबाट बरामद भएको हतियारको घटनाको ठीक दश दिन अगाडि सर्लाहीबाट पनि प्रहरीले एक थान हतियारसहित एक जनालाई नियन्त्रणमा लियो ।
सर्लाहीको लालबन्दी नगरपालिका १५ निवासी रामलाल मोक्तानलाई प्रहरीले ‘यूएस मेड’ लेखिएको हतियारसहित पक्राउ ग¥यो । उनीमाथि पनि प्रहरीले हतियार सम्बन्धीको मुद्दामा अनुसन्धान बढाएको जनाएको हो ।

घटना–३
सर्लाहीबाट हतियार बरामद भएकै दिन रौतहटबाट पनि एक थान कटुवा पेस्तोल बरामद भयो । गौर नगरपालिका महादेवपट्टीबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद ग¥यो । प्रहरीले कटुवा पेस्तोलसहित सितामढी बैरगिनिया निवासी राहुल रामलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यो घटनामा पनि बरामद कटुवा पेस्तोलसहित प्रहरीले रामलाई आफ्नो हिरासतमा राखेर अनुसन्धान चलाइरहेको छ । धनुषा, सर्लाही र रौतहटबाट मात्रै हतियार बरामद भइरहेका छैनन्, यी त केही उदाहरण मात्रै हुन । प्रदेशको ८ वटै जिल्लाबाट हतियार बरामद भइरहेको सूचि लामै छ ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार मधेश प्रदेशमा बितेको आर्थिक वर्षको ११ महिनामा साना र ठूला हतियार ३४ थान पक्राउ परेका छन् । गएको आर्थिक वर्ष ०८०/०८१ को श्रावदेखि जेठसम्ममा साना २६ र ठूला ८ वटा हतियार बरामद भएको प्रहरी विवरण छ ।

कुन जिल्लाबाट कति ?
प्रदेश प्रहरीको तथ्यांकमा अहिले मधेशका अधिकांश जिल्लाबाट हतियार बरामद भइरहेको देखिन्छ ।
सिरहाबाहेक ७ वटै जिल्लाबाट साना र ठूला हतियार फेला परेको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष ०८०÷०८१ जेठसम्ममा मात्र सप्तरीबाट ४, धनुषाबाट २, महोत्तरीबाट २, सर्लाहीबाट ३, रौतहटबाट ५, बाराबाट ३ र पर्साबाट ३ वटा सानो हतियार बरामद भएको प्रहरी अभिलेख छ ।

यसैगरी ठूला हतियारमा पनि सप्तरीबाट २, धनुषाबाट १, महोत्तरीबाट १, रौतहटबाट ३ र बाराबाट १ थान बरामद भएको प्रहरी विवरण छ । यही अवधिमा बरामद भएको हतियारमा प्रयोग हुने गोलीसमेत प्रहरीले फेला पारेको छ । प्रहरीले बरामद हतियारमा प्रयोग हुने गोली १४८ थान बरामद गरेको प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहराले बताए ।

उनका अनुसार हतियार पक्राउ पर्दा सोही हतियारसंगै यी गोलीहरु फेला परेका हुन् । यही अवधिमा प्रहरीले हतियारसहित ५४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रदेश प्रहरीले पनि मधेशमा हतियार आउने क्रम बढेको स्वीकारेको छ । प्रदेश प्रहरी प्रवक्ता सुबास चन्द्र बोहराले प्रहरी सक्रियता रहेपनि भारतबाट हतियार आउने क्रम नरोकिएको बताए ।

उनले भने, ‘खुल्ला सीमा छ, सस्तोमा पारीपट्टि हतियार खरिद गर्न पाइन्छ । उता सस्तोमा खरिद गरेर खुल्ला सीमानाकाको फाइदा उठाउँदै नेपाल ल्याउने गरिएको छ । तर पनि प्रहरी निस्क्रियता भने छैन ।’ प्रहरीकै सक्रियताको कारण ठूलो संख्यामा हतियार बरामद भएको उनको दाबी छ ।

 


सम्बन्धित समाचार