७ साउन,सेढवा । पर्सामा अनुमति विना संचालनमा रहेका संस्थागत÷निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको छ । जिल्लाका १४ वटै पालिकामा अनुमतिविना सञ्चालित निजी बिद्यालयका बालबालिकाहरुको तथ्याङ्ग शिक्षा मन्त्रालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) मा समावेश नहुने भएकाले उनीहरुको भविष्य अन्यौलमा परेको हो ।
मन्त्रालयले २०७५ सालदेखि नै यो प्रणाली लागू गरेको भएपनि यस बर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइएको छ । यो प्रणाली राज्यको सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालयमा लागू गरिएको छ । तर बिना अनुमति संचालित निजी बिद्यालयलाई मन्त्रालयले आइइएमआइएस कोड नदिएको र उक्त कोड बिना बिद्यालयको बिवरण भर्न नमिल्ने शिक्षा बिकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले बताए ।
कक्षा ५ संचालन गर्ने अनुमति पाएका तर कक्षा ८ संचालन गरिरहेको अवस्थामा विद्यालयको कक्षा ५ सम्ममा बिद्यार्थीको तथ्याङ्ग मात्र प्रणालीमा राख्न मिल्ने उनले बताए । एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सामूदायिक तथा निजी बिद्यालयको सम्पूर्ण क्षेत्रको बिबरण राखिएको हुन्छ । मन्त्रालयले उपलब्ध गराइएको कोर्डको माध्यमबाट विद्यालयको भौतिक संरचनाको विवरण, दरबन्दी तथा शिक्षकको व्यक्तिगत विवरण, विद्यार्थी व्यक्तिगत विवरणहरु राखिएको हुन्छ ।
हरेक वर्ष ती विवरणलाई असार १५ गते अद्यावदी गर्ने प्रावधान छ । उक्त समयमा अद्यावदी नगरे बिद्यालयले पाउने सेवा सुबिधा मन्त्रालयले रोक्का गर्ने व्यवस्था छ । यस बर्ष मन्त्रालयले सबै कक्षाका बिद्यार्थीहरुलाई भर्ना गरी असार १५ गते सम्म प्रणालीमा अध्यावदी गर्ने निर्देशन दिएको थियो । यस्तै छुटेका विद्यालयलाई समेत आजसम्म अद्यावदी गर्ने म्याद दिइएको थियो । तर पर्सामा अनुमतिबिना सञ्चालित कतिपय निजी बिद्यालयहरुले भने विद्यार्थीहरुको विवरण नभरेका हुन् ।
अभिभावकहरु यी सबै खबरबारे जानकार नहुँदा बालबालिकाहरुको भविष्यमा अन्यौलता छाएको शिक्षकहरुको भनाइ छ । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले आफ्नो पालिकामा करिब आधा दर्जन निजी विद्यालय बिना अनुमति संचालनमा रहेको प्रस्ट्याए । पालिकाबाट अनुमति लिन तोकिएको शुल्क कम गरिएको र विद्यालयका भौतिक संरचनाको अनुगमन गरी सकिएको बताउँदै उनले विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता श्रम मन्त्रालयले तोकेको मापदण्ड अनुरुप हुनुपर्नेमा जोड दिए । तर निजी बिद्यालयका संचालकहरुले अनुमति माग गर्न नआएको उनको भनाइ छ ।
यता पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शोलेन्द्र पञ्जीयारले पालिकामा रहेका तीन वटा संस्थागत बिद्यालयले शिक्षा मन्त्रालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण भरेको बताए ।















