Logo

८ साउन, काठमाडौं ।  सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ ।

सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको छ । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राखेका थिए ।

हिजो  (सोमबार) भने सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिँदै आन्दोलन रोकिएको बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ ।

एक हजार जना घाइते भएका छन् । यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन् । आन्दोलनका क्रममा प्रहरीको दमन र सत्तारूढ दलका कार्यकर्ताको आक्रमणमा प्रदर्शनकारीको ज्यान गएको हो ।

प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो ।


सम्बन्धित समाचार