Logo

८ साउन,काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) उर्मिला काफ्लेको सरुवा रोक्न अनुरोध गरेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै नगर प्रमुख पौडेलले उक्त निर्णय बदर गरिदिन प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेका हुन् ।

‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एकपटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ” भन्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा १८ को उपदफा १२ मा यस दफा विपरीत भएको सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्न सक्नेछ र यदि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएको रहेछ भने नेपाल सरकार मन्त्रिपरिषद्ले रद्द गर्नेछ भन्ने व्यवस्था रहेको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा (पदस्थापन) गर्ने निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको हुँदा उक्त निर्णय बदर गरिदिनु हुन अनुरोध गर्दछु,’ नगर प्रमुख पौडेलले खेलेको पत्रमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्र उनले सामान्य प्रशासन मन्त्रालयलाई बोधार्थ गरेका छन् ।

मन्त्रालयले २०८१ साउन ३ मा काफ्लेलाई सरुवा गरी उनको ठाउँमा उपसचिव चेत कुमार पोखरेललाई खटाएको थियो । काफ्लेको सरुवा कानून विपरीत भएको पौडेलले बताउँदै आएका छन् । यसअघि पौडेलले मन्त्रालयलाई पत्र बुझाउँदै पोखरेललाई हाजिर गराउन नसक्ने जानकारी गराएका थिए ।

 


सम्बन्धित समाचार