Logo

फाइल तस्बिर

८ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले पछिल्लो समय नेपाल प्रहरीको पहिलो प्राथमिकतामा पर्ने कामहरुतर्फ आफ्नो ध्यान केन्द्रित गर्न थालेको छ ।

लागु औषध जस्तो गम्भीर प्रकृतिको मुद्दा ‘केस’तर्फ सशस्त्र प्रहरीले हात हालेको पाइएको छ । लागु औषध समाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गरेर नेपाल प्रहरीसंग समानान्तर ढंगले अगाडि बढिरहेको उसकै तथ्यांकबाट पुष्टि भइरहेको छ ।

नेपालको सीमा सुरक्षा गर्नुको साथै भन्सार, राजश्व तथा औद्योगिक सुरक्षाका हेतु खडा गरिएको संगठन सशस्त्र प्रहरी बल हो । तर पर्सामा पछिल्लो समय सशस्त्र प्रहरीले भने आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर नेपाल प्रहरीको कार्यक्षेत्रभित्र पर्ने कामहरु गर्न थालेको उसैको तथ्यांकले देखाइरहेको छ ।

पर्सा सशस्त्र प्रहरी बलले बितेको यो एक आर्थिक वर्षमा धेरै परिणाममा लागु औषध बरामद भएको भन्दै आफ्नो वार्षिक प्रगती प्रतिवेदन भन्दै एक तथ्यांक सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको आफ्नो वार्षिक प्रगती विवरणको तथ्यांकमा बितेको आर्थिक वर्ष ०८०/८१ मा मात्र ठूलो परिमाणमा लागु औषध गाँजा, चरेश, ब्राउनसुगर तथा प्रतिबन्धित ट्याब्लेटहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बितेको एक वर्षमा २२६ किलो गाँजा र १ किलो चरेश तथा ९६९ पीस डाइजापाम, ८७९ पीस फेनार्गन, ९९७ पीस नुरफिन, २४८ पीस नाइट्रोभेट, ४ दशमलव ३७ ग्राम ब्राउनसुगर, १५ हजार २६ पीस ट्रमाडोलसहितका प्रतिबन्धित औषधीहरु बरामद गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

बरामद यी लागु औषधहरु कारबाहीका लागि भने पर्सा प्रहरी कार्यालयमा बुझाएको छ । कारण– अनुसन्धान गर्ने तथा कारबाही गर्ने सशस्त्र प्रहरीको अधिकार क्षेत्रभित्र पर्दैन । त्यसकारण बरामद सबै लागु औषधहरु कारबाहीका लागि नेपाल प्रहरीमा पठाउने गरिएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी पर्सा प्रमुख राधेश्याम धिमालले सशस्त्र प्रहरी बलले कुनै नेपाल प्रहरीको काममा कुनै हस्तक्षेप नगरेको बताए । उनका अनुसार बरामद भएका सबै लागु औषध नेपाल प्रहरीको समन्वयमा हुने गरेको छ ।
गैरकानुनी कार्य रोक्नुपर्ने हाम्रो पनि जिम्मेवारी भएकोले लागु औषध बरामद गरिएको सशसत्र प्रमुख धिमालले बताए ।


सम्बन्धित समाचार