Logo

९ साउन,ठोरी । गत वैशाख १९ देखि पुनः सन्चालनमा आएको ठोरीको छोटी भन्सार कार्यालयले करिब अढाई महिनाको अवधिमा ४ लाख ९१ हजार रुपैँया राजस्व संकलन गरेको छ ।

एक दशक भन्दा लामो समय सम्म बन्द रहेको छोटी भन्सारले पुनः सन्चालनमा आएको ३ महिना नपुग्दै ५ लाखको हाराहारीमा राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयले वैशाख महिनामा ३८ हजार, जेठ महिनामा २ लाख ३३ हजार ३ सय ६६ र असार महिनामा १ लाख ९० हजार ६ सय ३६ राजस्व संकलन गरेको जनाएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो साउन महिनाको ८ गतेसम्म २९ हजार ८ सय राजस्व संकलन गरेको कार्यालयका प्रमुख नायब सुब्बा दिनेश घिमिरेले जानकारी दिए ।

संकलित राजस्वको शत प्रतिशत हिस्सा नै भारतीय सवारीलाई नेपालमा अस्थायी आवतजावत गर्न अनुमति दिएबापत संकलन भएको उनी बताउँछन् । ठोरी नाका हुँदै नेपालका विभिन्न ठाउँमा घुम्न जाने भारतीय र कतिपय नेपालीले पनि भारतीय सवारी साधनको अस्थायी भन्सार अनुमति लिने गरेका हुन् । वर्षमा ३० दिनसम्म भारतीय सवारीलाई नेपालमा निश्चित राजस्व लिएर अस्थायी आवतजावत गर्न अनुमति दिने गरिएको हो ।

ठोरीबाट माडी हुँदै नारायणगढ र त्यहाँबाट देशभर पुग्न सहज हुने भएकाले ठोरी भन्सारमा सवारीको अस्थायी अनुमति लिनेको सङ्ख्या बढ्दै गएको हो । तर श्रावण महिना लागेपछि भने तुलनात्मक रुपमा भारतीय सवारी कम सङ्ख्यामा भित्रिन थालेको छोटी भन्सार कार्यालय ठोरीले जनाएको छ ।


सम्बन्धित समाचार