९ साउन,वीरगञ्ज । मधेश प्रदेशको दुई फरक जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रदेशको सर्लाही र रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–५ बस्ने ५५ वर्षीय सुनेसर राय यादवको पनि करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।