Logo

९ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले धनुषामा रहेको बगर जमिनको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार मुख्यमन्त्री सिंहले जिल्लाको कमला नगरपालिकास्थित ७ हजार बिगाहा बगर जमिनको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।

प्रदेशमा रहेको बगरको खेती योग्य जमिनमा सरकारको तर्फबाट कृषि क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले मुख्यमन्त्रीसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको जनाइएको छ ।
स्थलगत निरीक्षणपछि मुख्यमन्त्री सिंहले अहिलेको सरकारले बगर जमिनको सदुपयोग गर्ने तयारी गरेको प्रष्टयाए ।

उनले त्यस लगत्तै स्थानीयसंग गरेको अन्तरक्रियामा प्रदेश सरकारले कमला नगरपालिकामा रहेको बगर खेती योग्य जमिनमा कृषितर्फको खेतीका लागि द्रूत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार त्यसका लागि अब प्रदेश सरकारले पहिलो चरणमा डीपीआर तयार गर्नेछ ।

डीपीआर तयार भइसकेपछि बहुउद्देश्यले कामको थालनी हुने मुख्यमन्त्री सिंहको दाबी छ । यस अघिका सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको छ ।
उनले कमलाको बगरमा ताल बनाउन, माछा पालन, बाख्रा पालन,भैसी पालन, केरा खेती जस्ता बहुउद्देश्यका साथ खेती गरिने बताएका छन् । निरीक्षणमा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीसहितका सहभागीता थियो ।


सम्बन्धित समाचार