Logo

१० साउन,वीरगञ्ज । पछिल्लो समय मधेश प्रदेशमा हत्या घटनाका श्रृङ्खलाबद्ध भइरहेका छन् । अर्थात् हत्या जस्ता जघन्य प्रवृत्तिका घटनाको तथ्यांक बढ्दो छ ।

व्यक्तिगत रिइसबी तथा सामान्य खाले विवादमा हत्याका घटनाहरु हुने गरेको प्रहरी विश्लेषण छ ।

मधेश प्रहरीको तथ्यांकमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष ०८०/०८१ म प्रदेशका आठवटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरी अभिलेख छ ।
त्यसका उदाहरण यी हुन ।

यहि जेष्ठ ३२ मा बाराको कलैया उपमहानगरपालिकाको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको पनि हत्या भयो । उनीमाथि साँझमा घर नजिकै गोली प्रहार भएको थियो ।

आदर्शकोतवाल गाउँपालिकाको खजुरियाबाट आफ्नै मोटरसाइकलमा कलैयातर्फ फर्किने क्रममा घर नजिकैको बतरामा उनलाई गोली हानियो । गोली प्रहारबाट गम्भीर घाइते बनेका कुशवाहाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

मृतक कुशवाहाले गाउँकै पूर्व सेनाका जवान सुरेन्द्र कुशवाहाले उनीमाथि गोली प्रहार गरेको मृत्युकालीन घोषणा समेत गरे । घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान चलाए तर मुख्य अभियुक्त भनिने सुरेन्द्र कुशवाहा भने अझ फरार नै छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले बताउँदै आएको छ । यद्यपी व्यक्तिगत रिसइबीका कारण उक्त घटना घटेको अड्कल प्रहरीको छ । यस्तै जेष्ठ २९ गते पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भयो ।
कलैया निवासी रामएकवाल पंडित र उनका साथी सुरेश ठाकुरको आफुनै भतिजबाट हत्या भयो ।

प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । बाराका कुशवाहा र पर्साका पंडित तथा ठाकुरको हत्याका घटना त केही उदाहरण मात्र हुन ।

कति हत्याका घटना ?

गएको एक वर्षमा मधेश प्रदेशमा सबै भन्दा बढी धनुषा जिल्लामा हत्याका घटना भएको विवरण छ । प्रहरीका अनुसार धनुषामा मात्र २१ जनाको हत्या भएको तथ्यांक छ । सबै भन्दा कमतर्फ भने महोत्तरीमा हत्याका घटना भएका छन्, जहाँ ९ जनाको हत्या भएको छ ।

सिरहा जिल्ला भने बढी हत्या हुने जिल्लाको दोस्रो स्थानमा छ । यहाँ २० जनाको हत्या भएको छ । यसैगरी पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेश प्रहरीको तथ्यांक छ ।

गएको वर्षमा भएको हत्याका १२६ घटनामा संलग्न रहेको आरोपमा भने १४७ जना पक्राउ परेको मधेश प्रदेश प्रहरी प्रवक्ता सुबास चन्द्र बोहराले बताए अघिल्लो वर्षमा भने मधेश प्रदेशमा हत्याका घटनामा कमी थियो । प्रदेश प्रहरीको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा मधेशमा कुल १११ वटा हत्याका घटना भएका छन् ।

किन हत्या बढ्दैछ ?

प्रदेशमा तारान्तार हत्याका घटना श्रृङ्दलाबद्ध भइरहेका छन् । अर्थात् मधेश प्रदेश पछिल्लो समय अपराधको मरभूमि बन्दै गएको छ । खासगरी यी हत्याका घटनाहरु आर्थिक लेनदेन तथा व्यक्तिगत रिसइबीका कारणले भइरहेको प्रहरी आंकलन छ ।

प्रदेश प्रहरी प्रवक्ता बोहराले भने, ‘पछिल्लो समयमा मधेशमा हत्याका घटना हुनुको पछाडि जग्गा जमिनको विवाद, आर्थिक लेनदेन, व्यक्तिगत रिइसबी, सामान्य आवेस जस्ता कारणले हत्या भइरहेका छन्, सर्वसाधारणमा नैतिक शिक्षाको कमीले भइरहेका छन् । अर्को कारणमा खुल्ला सीमा पनि हो ।’

तर त्यसको बाबजुद पनि यी घटनाहरुमा कमी ल्याउनका लागि प्रहरीले बिशेष रणनीति लागु गरेको उनको भनाइ छ ।


सम्बन्धित समाचार