Logo

विवादमा ल्याउन खोजिएको स्काईलाइन महल र महलका संचालकलाई ब्ल्याकमेलिङ गर्न खोज्ने नापीका पूर्व कर्मचारी संजय ठाकुर

११ साउन, वीरगञ्ज । मालपोत कार्यालयका कर्मचारीको साँठगाँठमा विभिन्न व्यक्तिहरुको घर जग्गा हडप्ने उदेश्यले किर्ते कागजात खडागरी करोडौंको बार्गेनिङ गर्दै हिड्ने गिरोह वीरगञ्जमा सक्रिय रहेको पाइएको छ ।

वीरगञ्जका केही व्यापारीक घरानाका घर, जग्गा र महलमा किचलो खडागरी करोडौ रुपियाँ डिल गर्दै हिडने एक व्यक्ति महिनौ देखि वीरगञ्जको अलखियामठ स्थित एक होटलमा बस्दै आएका छन् । मालपोत, नापी र वीरगञ्ज महानगरपालिकाका कर्मचारीको मिलेमतोमा ती व्यक्तिले नक्कली कागजात बनाई सम्वन्धित जग्गाधनीसँग बार्गेनिङ गर्दै हिडनेगरेको एक व्यवसायीले बताए ।

वीरगञ्जको आर्दशनगरमा रहेको स्काईलाइन महल, छपकैया स्थित रेल्वे रोडमा पर्ने विवादमा रहेको सार्वजनिक जग्गा, आर्दशनगरमा बन्दै गरेको एक अपाटमेन्ट लगायत विभिन्न ठाउँको जग्गामा किचलो देखाई सम्वन्धित जग्गाधनीसँग अनुचित बार्गेनिङ गर्दै हिडने गिरोहलाई केही राजनीतिक दलका उच्च तहका नेताहरु, सुरक्षा र प्रशासनिक निकायका उच्च तहका अधिकारीहरु, न्यायिक निकायमा रहेका केही जिम्मेवार पदाधिकारीको संरक्षण रहेको बुझाई पीडित जग्गाधनीहरुको छ ।

वीरगञ्जको आर्दशनगरमा रहेको स्काईलाइन महलमा जग्गा सम्वन्धी किचलो देखाएर भूमाफियाको समूहले महल संचालकलाई धम्काउने र केहीले बार्गेनिङ गर्दै आएको महलका एक संचालकले बताए । नापी कार्यालयका पूर्व कर्मचारी बताउने सर्लाहीका संजय ठाकुरको धन्दा नै फर्जी रुपमा तयार पारिएको जग्गा किचलोको कागजपत्र देखाएर जग्गाधनीलाई धम्काउने बनेको छ ।

को हुन संजय ठाकुर ?

सर्लाही घर भएका संजय ठाकुर नापी कार्यालयका पूर्व कर्मचारी हुन । उनले २०५३ सालमा नापीको सर्वेक्षक पदमा जागीर खाएका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अधिकृतमा पदोन्नती भएको भन्दै विशेष र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

भारतबाट किनेर ल्याएको नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उनी बढुवा भएका थिए । उक्त मुद्दामा दोषि ठहर हुने भएपछि उनले जागीरबाट राजीनामा दिए । नापी कार्यालयमा जागीर खानु भन्दा अघि उनले २०५१ सालमा महन्थ ठाकुर कृषि मन्त्री भएको बेला सचिवालयमा काम गरेका थिए । उनले केही समय हुलाक कार्यालयमा समेत करारको जागीर खाएका थिए ।

नापी अधिकृतको जागीर छोडेपछि बेरोजगार बनेका संजय ठाकुरको धन्दा नै विवादीत बनेका घर जग्गाको कागज बोकेर मालपोत, नापी, नगरपालिका र सम्वन्धीत जग्गा धनीको घरदैलोमा पुग्ने गरेको बताइन्छ । शुरुमा जग्गा धनीलाई फकाउने र धनीले कुनै सुनुवाई नगरे विभिन्न माध्यम मार्फत मानसिक त्रास सृजना गराई करोडौं रुपियाँ बार्गेनिङ गर्ने उनको आदत नै परेको छ ।

उनले नेपालका प्रमुख राजनीतिक दलका उच्च तहका नेताहरुदेखि सत्तामा रहेका मन्त्री र प्रधानमन्त्रीले समेत आफूलाई चिन्ने गरेको र केही काम गराउन नेताहरुले सहयोग गरिदिने गरेको ठाकुरले भन्ने गरेका छन् । उनले मालपोत र नापीका कर्मचारीलाई आफूले भने जस्तो काम नगरे मन्त्रीलाई भनेर सरुवा गरिदिने धम्की दिने गरेको नापीका एक कर्मचारीले बताए ।

उनले प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवर, केही मन्त्रालयका सचिवहरु, सरकारी वकिल कार्यालय र न्यायलयका उच्च तहका पदाधिकारीसँग आफ्नो राम्रो सम्वन्ध रहेको बताउने गरेका छन् । उनले भरतीय दुतावासमा पनि आफ्नो हिमचिम रहेको भन्दै सरकारी अड्डाका कर्मचारीलाई घुमारो पारामा धक्काउने गरेको एक कर्मचारीले बताए ।

विभिन्न शक्ति केन्द्रको आडमा गैरकानूनी काम समेत आफूले फत्ते गर्ने भन्दै मालपोत र नापी कार्यालयका कर्मचारीलाई धम्काउने गरेको नापी कार्यालयका एक कर्मचारीले बताए । उनले मालपोत र नापीका कर्मचारीलाई मानसिक दवाव दिने गरेको ती कर्मचारीको भनाई छ ।

ठाकुरले अहिले स्काईलाइन महलको जग्गा र पुरानो रेल्वे लाइनमा रहेको छपकैया स्थित ३२ कठ्ठा जग्गामा विभिन्न व्यक्तिले गरेको किचलोलाई जिम्मामा लिएर हिडेका छन् । उनले अदालतका न्यायधिसलाई समेत प्रभावमा पारेर केही जग्गामा लफडा गर्न खोजेपनि कानूनी रुपमा सफल हुन सकेका छैनन् ।

वीरगञ्जमा अर्काको नाममा रहेको जग्गा फर्जि कागजातका आधारमा बाराको मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरेको बिषयलाई संजय ठाकुरले अहिले मुख्य मुद्दा बनाएर स्काईलाइन महलका संचालकसँग केही झार्न सकिन्छ की भन्ने च्याँखे दाउमा छन् । उनको च्याँखे दाउ सफल नहुने भएपछि केही दिनदेखि उनी तनावमा देखिन्छन् ।

स्काईलाइन महलमा जग्गा किचलोको कसले गर्दैछ ?

साबिक पर्सा जिल्ला श्रीपुर (वी) वडा नं. ९ कि.न. १०५ (ख) को ३ कठ्ठा जग्गा निखत प्रविन अंसारीले २०५९ असोज २३ गते रामविन्दु राउत कुर्मीसँग खरिद गरेको र हालसाबिक गर्न २०६९ कार्तिक १९ र मंसीर २९ गते मालपोत कार्यालय पर्सामा निवेदन दिएकी थिइन् ।

मालपोत कार्यालय पर्साले हालसाबिक नगरिदिएको भन्दै उनले मालपोत कार्यालय पर्सालाई विपक्षी वनाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका २०७४ फागुन ६ गते रिट दायर गरेकोमा सोही अदालतबाट २०७४ फागुन १६ गते हालसाबिक गरिदिन मालपोत कार्यालयका नाउँमा परमादेश जारी भएको छ ।

मालपोत कार्यालय पर्साले अदालतको आदेशलाई देखाएर हालसाबिक प्रकृया अगाडी बढाएकोमा नापी कार्यालयले उक्त जग्गा नगर विकास निर्माण समितिले विभिन्न व्यक्तिको नाउँमा विक्री गरेको भन्दै हाल साबिकको काम रोकिदिएको थियो ।

हालसाबिक गरिपाउँ भनि निवेदन दिने निखत प्रविण अंसारीले खरिद गरेको भनिएको उक्त कित्ता नम्वर १०५ को जग्गा वेइलकाको अड्डा मालपोत कार्यालय बाराबाट २०७० फागुन २५ गते रिना देवी साहलाई लेखत पारित गरेकोको देखिन्छ । रिना देवीले पनि उक्त कित्ताको जग्गा नयाँ नापीको कित्ता नंम्वर ५४, ५५, ५६ र ५७ मा नापी भएको हुँदा हालसाबिक दर्ता गरी पाउँ भनी मालपोत कार्यालय पर्सामा २०७१ पुष ४ गते निवेदन दिएकी थिइन् ।

मालपोत कार्यालय पर्साले रिना देवी साहको माग अनुसार प्रकृया अगाडी बढाउदाँ कित्ता नम्वर १०५ को जग्गा नयाँ नापी को कित्ता नम्वर ५४, ५५, ५६, ५७ मा नापी भएको र कित्ता नम्वर ५४ महावीर प्रसाद अग्रवाल, कि.न ५५ रिना कुमारी साह, कि.न ५६ उमेश चन्द्र नेपाल र कि.न. ५७ नरेश कुमार साहको नाउँमा दर्ता भएको देखिन आएकोले जग्गा प्रशासन निर्देशिका २०५८ को परिच्छेद १६ को दफा ४(क) मा भएको कानूनी व्यवस्था बमोजिम मालपोत कार्यालयबाट निर्णय गर्न नमिल्ने हुँदा अदालतबाट हक कायम गरी ल्याउन सुनाईदिने भनी २०७२ फागुन १२ गते निर्णय गरेको देखिन्छ ।

मालपोत कार्यालयको निर्णयलाई आधार बनाएर रिना देवी साहले कित्ता नं. ५४, ५५, ५६ र ५७ नम्वरको जग्गा कित्ता नं. १०५ को भएको हुँदा आफ्नो नाउँमा हक कायम गर्न ४ जना जग्गाधनी विरुद्ध २०७५ माघ २१ गते जिल्ला अदालत पर्सामा रिट दायर गरेकी थिइन् । उनले विभिन्न व्यक्ति र मालपोत कार्यालयलाई विपक्षी बनाई हालसाबिक खारेज र आफ्नो नाउँमा हक कायमको माग गरेकी थिइन् ।

रिना देवीले जिल्ला अदालत पर्सामा चलेको मुद्दा कार्वाहीको प्रकृयामा रहेको अवस्थामा कित्ता नं. ५४ र ५५ का जग्गाधनीसँग मुद्दाको दावी छोडी २०७७ असोज १२ गते उनीहरुसँग अदालतमा मिलापत्र गरेको देखिन्छ । उनले कित्ता नं. ५६ र ५७ का जग्गाधनीसँग मुद्दा लडेकोमा जिल्ला अदालत पर्साबाट २०७८ असोज ७ गते दुवै कित्तामा उनको दावी नपुग्ने फैसला गरेको छ । उक्त मुद्दा उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जबाट समेत रिना देवी साहको विरुद्ध फैसला भएको छ ।

निखत प्रविण अंसारीले साबिक कित्ता नं १०५ को जग्गा रिना देवी साहलाई विक्री गरेकोमा उक्त जग्गा खरिदकर्ता साहले हालसाबिक गर्ने प्रकृयामा जिल्ला र उच्च अदालतबाट निजको दावी नपुग्नेगरी फैसला भई अन्तिम भइसकेपछि उक्त तथ्यलाई लुकाई फेरि निखत प्रविण अंसारी आफ्नै नाउँम हालसाबिक दर्तागरी पाउँ भनि जग्गाधनीसँग किचलो खडा गर्ने अभियानमा लागेको देखिन्छ ।

मालपोत कार्यालय पर्साले अदालतबाट समेत अन्तिम फैसला भएर टुंगिएको बिषयलाई पुन उत्खनन् गर्न खोजेको छ । कानून, विधि र प्रकृयालाई लत्याई आफैले एक पटक निर्णयगरी अदालतबाट समेत अन्तिम निर्णय भइसकेको बिषयलाई पुन कार्वाही अगाडी बढाउन खोज्नुले भूमाफियाको चंगुलमा मालपोतका कर्मचारी परेको देखिन्छ ।

स्काईलाइन मलसँग जोडिएको कित्ता नं. १०५ को तथ्य के हो त ?

वीरगञ्ज महानगर पालिका र नापी कार्यालय पर्साले कित्ता नं. १०५ को ३ कठ्ठा जग्गा पशुपति आर्दशनगर निर्माण समितिले कित्ता नम्वर र चौहदी उल्लेखगरी अधिग्रहण गरेको जग्गा भएको जनाएको छ ।

पशुपती आर्दशनगर निर्माण समितिले तयार गरेको नक्सामा कित्ता नम्वर १०५ को जग्गा ८४०, ८४१, ८४२ र ८४३ नम्वरको प्लटमा राखेको देखिन्छ । उक्त प्लट नम्वर पशुपति आर्दशनगर विकास समितिले विभिन्न व्यक्तिलाई विक्री गरेको तथ्य वीरगञ्ज महानगरपालिकासँग छ । कित्ता नम्वर १०५ नम्वरको ३ कठ्ठा जग्गा साबिक जग्गाधनी नरेश साहबाट पशुपति आर्दशनगर निर्माण समितिले अधिग्रहण गरेको तथ्यलाई नरेश साहले समेत स्वीकारेको भनाई वीरगञ्ज महानगरपालिकाका कानूनी सल्लाहकार कमलमोहन पोखरेलको छ ।

पशुपति आर्दशनगर निर्माण समितिले अधिग्रहण गरेको प्लट नम्वर ८४०, ८४१, ८४२ र ८४३ को जग्गा शहरी नापीमा जाँदा कित्ता नं ५४, ५५, ५६ र ५७ मा नापी भई सम्बन्धित जग्गावालाको नाउँमा नापी दर्ता भएको र सोही बमोजिम हालसाबिक दर्ता समेत भएको वीरगञ्ज महानगरपालिकाको भनाई छ ।

साबिक जग्गाका धनी नरेश साह र रिना देवी साहले समेत अदालतमा दिएको मुद्दामा उक्त जग्गा पशुपति आर्दशनगर निर्माण समितिले अधिग्रहण गरेको जग्गा भएको स्वीकार गरेको र नरेशले मिलापत्र र रिना देवीले मिलापत्र र अदालतबाट उनको हक कायम हुन नसक्ने अन्तिम फैसलाबाट टुंगिएको अवस्थामा फेरि विभिन्न व्यक्तिले दावी गरेर आउनुमा कानूनी रुपमा कुनै तुक नरहेको महानगरपालिकाका कानूनी सल्लाहकार पोखरेलको भनाई छ ।

जग्गा अधिग्रहण गर्ने निकाय वीरगञ्ज महानगरपालिका र नापी नक्साको अन्तिम निक्र्यौल गर्ने निकाय नापी कार्यालय पर्साले समेत उक्त जग्गाको बिषयमा आर्दशनगर निर्माण समितिले अधिग्रहण गरेको जग्गा भएको तथ्य प्रस्तुत गर्दा गर्दै पनि किर्ते कागजाताका आधारमा जग्गाधनीलाई दुख दिने नियतले काम गर्ने भूमाफिलाई पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने भनाई आर्दशनगरका एक जग्गाधनी शम्भु प्रसाद कलवारको छ ।

केडिया ग्रुप र निखत प्रविण अंसारीको विवादीत जग्गाको सम्वन्धित जग्गाधनीसँग बार्गेनिङ गर्ने जिम्मा लिएका पूर्व नापी अधिकृत संजय ठाकुरले विगत केही महिना देखि वीरगञ्जमा बस्दै आएका छन् । उनी नापीका पूर्व कर्मचारी भएकोले केही व्यापारी घरानाको विवादीत जग्गाको ठेक्कामा सर्काने गरेको एक जग्गाधनीले बताए ।

उनी लामो समय देखि वीरगञ्ज स्थित होटल बृन्दावनमा बस्दै आएका छन् । उनलाई होटलमा बस्ने खर्च र खानापीनाको व्यवस्था फर्जि जग्गाधनीले नै गरिएको बुझाई पीडित जग्गाधनीहरुको छ । संजय ठाकुर भने आफ्नो घर सर्लाही भएको र आफ्नो बाबु बाजेको पुर्खेउली सम्पत्तीबाट खर्च व्यवस्थापन गर्दै आएको बताउछन् ।

निखत प्रविण अंसारीसँगको नाता सम्वन्ध के हो ? किन उसको फर्जि कागजात बोकेर हिड्ने गरेको भन्ने प्रश्नमा उनले निखत प्रविणलाई आफूले नचिन्ने र उसको कुनै कागजातको वारेस बनेर कुनै सरकारी कार्यालयमा नपुगेको दावी ठाकुरको छ ।

स्काईलाइन महलका संचालक राजेश अग्रवालले संजय ठाकुरले आफूलाई पटक पटक महलको जग्गाको विषयमा व्ल्याकमेलिङ्ग गर्न खोजेको बताए । महलको जग्गाको विवाद म मिलाई दिन्छु कति पैसा दिनु हुन्छ भनेर फोन गर्ने गरेको अग्रवालले भनाई छ ।

२०२१ साल देखिको कागजपत्र र डकुमेन्टका आधारमा हामीले जग्गा खरिद गरेका हौं, संचालक अग्रवालले भने, “जो सँग जग्गा खरिद गरिएको हो उसको बलियो प्रमाण छ, मैले किन कसलाई पैसा दिने ।” संजय ठाकुरले आफूसँग करोडौं रुपियाँ मागेको अग्रवालको भनाई छ ।

यता संजय ठाकुरले भने होली अघि राजेश अग्रवालसँग बहालवाला एक मन्त्रिले नै अनुरोध गरेर आफूले भेटेको बताए । मैले कुनै बार्गेनिङ गरेको छैन, उहाँले नै भेटन आउनु काम छ भनेर बोलाएकोले भेटेको हुँ, ठाकुरले भने ।

को हुन निखत प्रविण अंसारी ?

वीरगञ्ज महानगरपालिका वडा नंं ४ निवासी अब्दुल गनी अंसारीकी छोरी हुन निखत प्रविण अंसारी । उनको विवाह भारतको मोतियारीमा भएको छ । भारतमा विवाह भएकोले अहिले उनी भारतीय नागरिक हुन । विवाह पूर्व निकालेको नागरिकताको दुरुपयोग गर्दै उनले विभिन्न व्यक्तिको जग्गा आफ्नो भएको भन्दै विवाद खडा गरेको देखिन्छ । कुनै कानूनी निकायले उनको हक दावी कायम गरेको देखिदैन ।

केही बर्ष अघि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लगेपछि वीरगञ्ज छोडेर भागेकी निखत प्रविण अंसारी भारतमै बस्ने गरेकी छन् । उनी वीरगञ्जमा आउदा समेत लुकेर आउने गरेको उनलाई चिन्ने छपकैयाका एक स्थानीयले बताए । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी रहेका अब्दुल गनी अंसारी पनि भारतमै बस्ने गरेको प्रदीप केडियाले बताए ।

एसवीआई र कुमारी बैंकको फण्डा के हो ?

वीरगञ्जको आर्दशनगरमा करिव २ सय करोडको लागतमा निर्माण भएको स्काईलाइन महलमा एसवीआई र कुमारी बैंकको समेत ऋण लगानी रहेको छ । स्काईलाइन महलको नाउँमा लगानी गरेका दुवै बैंकले संजय ठाकुरको प्रलोभनमा परी मालपोत कार्यालयलाई स्काईलाइन जग्गाको विवादको विषयमा जानकारी दिन पत्र पठाएका छन् । एसवीआई बैंकका वीरगञ्ज शाखा प्रवन्धक राकेश महर्जनले महलको जग्गा निखत प्रविण अंसारीले मेरो हो भनी दावी गरेकोले मालपोत र नापीको नाउँमा पत्र काटेको बताए ।

मालपोत कार्यालयका कर्मचारीहरु भने बैंकले मालपोतको नाउँमा पत्र काट्न नमिल्ने बताउछन् । मालपोत कार्यालय पर्साका एक कर्मचारीको अनुसार मालपोत कार्यालयले नै एसवीआई बैंक र कुमारी बैंकलाई लगानीका सन्दर्भमा फाइल झिकाउने गरी पत्र काटने तयारी भएको बताए ।

संजय ठाकुर भन्ने व्यक्तिले आफू पूर्व नापी अधिकृत भएको बताउदै बैंकले मालपोत र नापीको नाउँमा पत्र काट्न लगाएको एसवीआई बैंकका एक कर्मचारीले बताए । ठाकुरले धम्की दिएकोले मालपोतलाई बाध्य भएर पत्र काटिएको ती बैंक कर्मचारीको भनाई छ ।

दुवै बैंकका कर्मचारीलाई संजय ठाकुरले प्रलोभनमा पारेर पत्रकाटेको हुनुपर्ने नापी कार्यालयका एक कर्मचारी बताउछन । बैंकले आफ्नो आधिकार विर्सेर पत्र काटेको देखिन्छ सायद ठूलो प्रलोभनमा परेर त्यस्तो काम गरेको होला नापीका ती कर्मचारीले भने ।

किन कार्वाही हुदैन भूमाफियालाई ?

वीरगञ्जका अधिकांश सार्वजनिक र व्यक्तिका जग्गामा भूमाफियाहरुले किचलो गरेको घटना बाहिर आएका छन् । एउटै व्यक्तिको जग्गामा ४÷५ जनाले आफ्नो भएको दावी सहित नापी, मालपोत र अड्डा अदालतमा उजुरी हाल्ने गरेको अवस्थामा किन कार्वाही हुदैन भूमाफिया दलालहरुलाई एउट प्रश्न उठन थालेको छ ?

भूमाफियाहरुले नापी, मालपोत र अदालतलाई समेत प्रभावमा पार्ने गरेको एउटा घटना स्काईलाइन महल समेत हो । महलको विषयमा विवादास्पद फैसला सुनाउने न्यायधिस सिताराम मण्डलका बिषयमा न्याय परिषदमा उजुरी परेपछि उनले राजीनामा दिएका छन् ।

भूमाफियाको जालो प्रहरी, प्रशासन, राजनीतिक दलका उच्च तहका नेताहरु र न्यायलय सम्म पहुँच भएकोले होला उनीहरुका विरुद्ध कुनै कार्वाही हुदैन । वीरगञ्जमा अहिले भूमाफियाको कामको ठेक्का लिएर हिडने संजय ठाकुरले वहालवाला मन्त्री राजकुमार गुप्ता र अजय चौरसीयासँग समेत आफ्नो नजिकको सम्वन्ध भएको बताउने गरेका छन् । उनले पर्साका एसपी कुमुद ढंगेलसँग पनि आफ्नो जिग्री दोस्ती रहेको बताए । रेसखवरसँगको कुराकानीमा उनले आफू नापीको पूर्व अधिकृत भएकोले मन्त्री, सचिव र प्रहरी प्रशासनका मानिससँग आफ्नो पहुँच हुनु स्वभाविक भएको बताए ।


सम्बन्धित समाचार