Logo

१२ साउन,वीरगञ्ज । वीरगञ्जमा आज तीन छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तीन छुट्टाछुट्टै सस्ंथाहरुले आयोजना गरेको कार्यक्रममा १२९ पोका रगत संकलन भएको रेडक्रस पर्साले जनाएको छ ।

सत्य साइ केन्द्र प्रदेश २ समिति, बीआइटी कलेज र नेपाल जनता पार्टीले आयोजना गरेका छुट्टाछुट्टै रक्तदानको कार्यक्रम गरेको हो । सत्य साइ केन्द्र प्रदेश २ समितिले आज माइस्थान पार्कमा आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित २१ जनाले रगतदान गरेका छन् ।

यसैगरी बीआइटी कलेजले आफ्नो कलेज परिसरमा आयोजना गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । यस्तै नेपाल जनता पार्टीले वीरगञ्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५४ जनाले रगतदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले बताए ।

उनका अनुसार रक्तसञ्चार केन्द्र वीरगञ्जमा बढ्दो रगतको अभावका कारण छुट्टाछुट्टै आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भएको हो ।

रगतको चरम अभाव
यसैबिच रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएको छ । बढ्दो गर्मीबिच बिरामीका चाँपका कारण केन्द्रमा रगतको चरम अभाव भएको हो । अहिले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएको छ ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक झाका अनुसार अहिले केन्द्रका सबै प्रकारका रगतको चरम अभाव भएको छ । गर्मीमा मानिसहरु घरबाहिर ननिस्कने हुनाले रक्तदान कम हुने तर केन्द्रमा भने रगत लिन आउने बिरामीहरुको चाँप बढी भएकाले रगतको चरम अभाव भएको उनी सुनाउँछन् ।

केन्द्रमा अहिले १२० पोकासम्म रगतको माग छ । प्रत्येक दिन ६० देखि ७० पोकासम्म रगत जाने गरेको तर, रगत संकलन भने न्यून हुदा रगतको अभाव बढ्दो रहेको उनले बताए । उनले रक्तदानका लागि दाता संस्थाहरुसँग समन्वय भइरहेको पनि बताए ।

रगतदान गरी जीवनदान गर्न सम्पूर्ण रक्तदाताहरुसँग रक्तसञ्चार केन्द्र वीरगञ्जले आग्रह गरेको छ ।


सम्बन्धित समाचार