Logo

१२ साउन,वीरगञ्ज । पर्सामा सामाजिक हिंसातर्फको घटनामा बढोत्तरी भएको छ । पर्सा प्रहरीको एक तथ्यांकले जिल्लामा सामाजिक हिंसातर्फको घटनामा बृद्धि भइरहेको देखाइरहेको छ । त्यसमा अझ महिलासंगको झै–झगडा तथा कुटपिटको घटनामा वृद्धि भएको तथ्यले देखाइरहेको छ ।

प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा जिल्लामा गएको एक वर्षमा यी घटनाहरुमा वृद्धि भएको देखिएको हो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लाभरमा ५ हजार २१ वटा घटना भएको प्रहरीको रेकर्ड छ । तर गत वर्ष भने सबैभन्दा बढी करिब अढाइ हजार सामाजिक हिंसाका घटना भएको छ ।

महिला झै–झगडा, कुटपिटसहितका अन्य सामाजिक हिँसाका घटनामा वृद्धि भएको प्रहरीको अभिलेख छ । प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १२८, ०७९/०८० मा १ हजार ५९४ वटा सामाजिक हिंसाका घटना भएका छन् । यसैगरी आव ०८०/०८१ मा भने ह्वात्तै बढेर २ हजार २ सय ९९ वटा सामाजिक हिंसाका घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीमा दर्ता रहेका ती घटनाहरुमध्ये प्रहरीले ४ हजार ५९६ वटा उजुरी भने फछ्र्यौट गरिएको प्रहरी बताउँछ । बाँकी ४२५ वटा उजुरी भने अझ फछ्र्यौट गर्न बाँकी छ ।

घरेलु हिंसाका घटनामा कमी

पर्सा प्रहरीको तथ्यांकले गएको तीन वर्षमा भने घरेलु हिंसाका घटनाहरुमा कमी आएको देखाएको छ । अर्थात् घरेलु हिंसा सम्बन्धि निवेदन तथा उजुरीको सङख्यामा कमी आएको हो । प्रहरीका अनुसार गएको तीन आर्थिक वर्षमा १ हजार ५०९ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

आव ०७८/०७९ मा ६२२, ०७९/०८० मा ५२७ र ०८०/०८१ मा ३६० वटा घरेलु हिंसा उजुरीहरु प्रहरीमा दर्ता भएको तथ्यांक छ । जसमध्ये १ हजार ४३९ वटा उजुरीहरुको भने फछ्र्यौट भइसकेको प्रहरी विवरणमा उल्लेख छ भने बाँकी ७० निवेदन उपर भने छलफल गर्ने क्रम जारी छ ।


सम्बन्धित समाचार