Logo

१२ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्वका लागि दलहरूले ल्याउनुपर्ने न्यूनतम मत (थ्रेसहोल्ड) बढाएर साना पार्टीलाई निस्तेज बनाउन खोजिएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको जन्म शताब्दीको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)माथि यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस र एमाले दुई पार्टी प्रणालीमा जान खोजेको र त्यसका लागि संविधान संशोधन गर्न खोजिरहेको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पहिलो र दोस्रो दल मिल्ने ‘कथित संसदीय प्रणाली’ नेपालमै मात्र भएको भन्दै कटाक्ष गरे ।

‘दुईवटा पार्टीले गर्न खोजेको संविधान संशोधन नेपाली जनताका अधिकार खोस्नका लागि हो । उनीहरू थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र देशलाई कथाकथित दुई पार्टी सिस्टममा लान खोजिरहेका छन् । यसमा हाम्रो विरोध हो,’ उनले भने ।

प्रचण्डले नेपाली जनताले लामो समयसम्म गरेको बलिदानले प्राप्त उपलब्धिलाई खोस्न प्रसास भइरहेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

गणतन्त्र र संविधानलाई कुल्चिन चाहने प्रवृत्ति कम्युनिस्टहरूभित्रै रहेको उनले बताए । यसले गर्दा आफूले कम्युनिस्ट एकताको प्रयास गर्दा असफल भएको प्रचण्डको भनाइ थियो ।

कम्युनिस्ट पार्टीहरूलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको उनले आशंका व्यक्त गरे ।


सम्बन्धित समाचार