Logo

१३ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा सञ्चालित उद्योगमा स्थानीयले रोजगार नपाउने गरेको टिप्पणी गरेका छन् ।
जनकपुरमा आयोजित उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभाको उद्दघाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

मधेशमा स्थापित उद्योगमा प्रदेशका स्थानीयले रोजगारी नपाएको भन्दै मुख्यमन्त्री सिंहले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले उद्योगी ब्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार तदारुकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री सिंहले भने, ’म व्यवसायीहरुका समस्याबारे अवगत छु । भारतबाट सामान ल्याउँदा व्यवसायीहरूले अनावश्यक करको झन्झट सहनु परेको छ । भन्सार कार्यालयहरुमा दक्ष जनशक्तिको अभावले काम गर्न कठिनाइ भएको छ ।’

उद्योगी व्यवसायीको समस्या सम्बोधन हुनेगरी प्रदेश सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री सिंहले त्यसका लागि नीति निर्माण गर्दा सरोकारवालाहरुलाइ समेत सहभागी गराइने दाबी गरे ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेशमा बेरोजगारीको समस्या अत्यधिक रहेको बताए ।

प्रदेशको यो समस्या अन्त्यका लागि गम्भीर भएर लागि पर्ने उनको भनाइ छ ।
धनुषा र सिरहास्थित कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनले जनाए ।


सम्बन्धित समाचार