Logo

१३ साउन,काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ?’ उनले प्रश्न गरे, ‘ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’

तल्लो तहका कर्मचारीलाई दोषी देखाएर पन्छिने प्रवृत्तिको विरोध गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका हुन् ।

‘यसमा सरकार जबाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ साहले प्रश्न गरे । जनउत्तरदायी सरकार हो भने सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र सुधारका लागि काम गर्नुपर्ने उनको सुझाव छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार