Logo

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका सदस्यमाथि प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।

‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ । सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ’ लिङ्देनले प्रश्न गरे ।

एउटै व्यक्तिलाई पटक–पटक छानबिनको जिम्मेवारी दिने गरिएको भनेर पनि उनले सरकारमाथि प्रश्न उठाए ।

विमानलाई सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए । काठमाडौँमा सी–चेक हुन सक्ने हो कि होइन ? भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार