Logo

१६ साउन, काठमाडौं । रातभर परेको अबिरल बर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागमा बाढी पसेर क्षति पुर्‍याएको छ । अत्याधिक परेको पानीले नदीका सतह बढेकोले आज दिउसो ११ बजे सम्म सतर्कता अप्नाउन मौसम विभागले आग्रह गरेको छ ।

बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान ११ बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो । बाढीले फर्निचर उद्योगका प्लाई र मेसिन गरी १० लाख बराबरको क्षति पुगेको प्रजापतिले प्रहरीलाई विवरण टिपाएका छन् ।

भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन । तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन् । सधैं डुबान हुने गरेको राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन ।

विगत १२ घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको थियो । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरी लगायतका नदी तथा खोलाहरुमा बाढी आएको छ ।


सम्बन्धित समाचार