Logo

१७ साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले एकलाख भन्दा बढी मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । जिल्लाका फरकफरक स्थानहरुबाट चलाएको जाँच अभियानका क्रममा प्रहरीले एक लाख ३१ हजार ८ सय मूल्य बराबरका भन्सार छलीका सामानहरु पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले रिफाइन्ड तेल र विभिन्न प्रकारका मोबाइल पार्टसहरु बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए ।
उनका अनुसार प्रहरीले बिन्दबासीनी गाँउपालिका वडा नम्बर ५ को एरियाबाट २० हजार मूल्यका १० कार्टुन रिफाईन्ड तेल नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरस्थित सडकखण्डबाट एक लाख ११ हजार ८ सय मूल्य बराबरका मोबाइलका पार्टसहरु बरामद गरेको प्रवक्ता भारतीले बताए ।

प्रहरीले किप्याड मोबाइल १३ थान, मोबाइल चार्जर २० थान, म्याजिक एयरफोन २० थान, हेडफोन १३ थान, एयरबर्डस ५ थान, टेम्पर ग्लास ३ प्याकेट, ब्लुतुथ स्पिकर ८ थान र पावर बैँक १ थान बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार