Logo

१७ साउनकाठमाडौं । हिमाचल प्रदेशमा रामपुर र मण्डी नजिकै बादल फुटेर आकाशबाट निकै धेरै पानी एकैपटक खस्दा अचानक ठूलो बाढि आएको छ । शिमलाको सरपारा पञ्चायतको समेज र मण्डीको टिकन क्षेत्रमा पनि बादल फुटेको खबर छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्द सिंह सुखुले सामाजिक सञ्जालमा लेखेका छन्, “शिमलाको रामपुर तहसील, मण्डी जिल्लाको पाधार तहसील र कुल्लुको निर्मण्ड गाउँमा ५० भन्दा बढी मानिस बेपत्ता भएको अत्यन्तै दुखद खबर प्राप्त भएको छ।”

उनले लेखेका छन्, ‘एनडीआरएफ, एसडीआरएफ, प्रहरी, होमगार्ड र फायर सर्भिसका टोलीहरू राहत, खोज र उद्धार कार्यमा संलग्न छन्। स्थानीय प्रशासनलाई राहत तथा उद्दार कार्य सुचारु रुपमा गर्न निर्देशन दिइएको छ ।’

मुख्यमन्त्रीले भने– ‘म अधिकारीहरूसँग सम्पर्कमा छु र राहत र उद्धार कार्यको अनुगमन गरिरहेको छु। राज्य सरकार सक्दो सहयोग गर्न प्रतिबद्ध छ।’

हिमाचल प्रदेश सरकारका मन्त्री जगत सिंह नेगीले शिमला जिल्लाको सरपारा पञ्चायतमा बादल फुट्दा ३६ जना बेपत्ता भएको बताएका छन् । उनले मण्डीको टिकन क्षेत्रमा पनि बादल फुटेको जानकारी दिए । यहाँ दुई जनाको शव फेला परेको छ भने ८ जना बेपत्ता छन् ।

कुल्लुको मलानामा रहेको पावर प्रोजेक्टको बाँध भत्किएको उनले बताए । सडक सञ्जाल बिग्रिएपछि धेरै मानिस अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्धार गरिनेछ । कुलुको निर्मण्ड सब डिभिजनमा ४ वटा मोटर ब्रिज भाँचिएको उनले बताए ।

२५ भन्दा बढी फुट पुलमा क्षति पुगेको जानकारी प्राप्त भएको छ । छिट्टै सम्पर्क सुचारु गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको उनले बताए । मुख्यमन्त्रीले आकस्मिक बैठक बोलाएको जगतसिंह नेगीले बताए ।

उत्तराखण्डमा पनि बुधबार राति परेको भीषण वर्षाका कारण केदारनाथ उपत्यकामा धेरै क्षति भएको छ । सोनप्रयाग बाहिरको सडकको पैदल हिँड्ने बाटो बगेको छ । केदारनाथमा बुधबार राति परेको भीषण वर्षाका कारण भिम्बालीमा एमआरपी नजिक २० देखि २५ मिटर पैदल बाटो बगेको छ ।

वर्षाका कारण सडकमा ठूला ढुङ्गा आएकाले सडक अवरुद्ध भएको छ । घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ । भिम्बालीको गेस्ट हाउसमा करिब दुई सय यात्रुलाई रोकिएको छ । रुद्रप्रयागमा पनि अबेर राति परेको अविरल वर्षाका कारण धेरै क्षति भएको छ ।

प्रहरी प्रशासनका अनुसार खोलाको कटान र पहाड भत्किँदा सोनप्रयागको मुख्य बजारभन्दा करिब एक किलोमिटर अगाडिको सडकको ठूलो हिस्सा बगेको छ । त्यसैगरी जङ्गलचट्टीदेखि भिम्बली बीचको गौरीकुण्ड वरपर, भिमवली प्रहरी चौकीभन्दा बाहिर र लिञ्चोली क्षेत्रका धेरै ठाउँमा फुटपाथमा क्षति पुगेको छ ।

रुद्रप्रयाग पुगेका यात्रुहरु जहाँ भएपनि सुरक्षित रहन प्रहरी प्रशासनले अपिल गरेको छ । वर्षाका कारण प्रहरी प्रशासनले केदारनाथ यात्रा स्थगित गर्न अपिल गरेको छ ।

जिल्लामा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिहीबार सबै विद्यालय र आङ्गनवाडीमा बिदा दिइने भएको छ ।

 


सम्बन्धित समाचार