Logo

१७ साउन,काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर हमला भएको छ । करिब तीन सय बैंकहरु ठप्प भएका छन् । ¥यान्समवेयर आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली पनि असफल भएको छ । रिपोर्टका अनुसार यी सबै बैंकहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनीमा यो साइबर हमला भएको हो ।

बिहीबार सी–एज टेक्नोलोजी कम्पनीमा ¥यान्समवेयर आक्रमण गरिएको थियो। यस कम्पनीले देशका सबै साना बैंकहरूलाई प्राविधिक सहयोग सेवाहरू प्रदान गर्दछ। यस्तो अवस्थामा यस कम्पनीमा साइबर हमलाले यससँग सम्बन्धित करिब तीन सय बैंकलाई प्रत्यक्ष असर गरेको छ । जसका कारण बैंकहरूको भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ ।

यस विषयसँग प्रत्यक्ष सम्बन्धित दुई स्रोतलाई उद्धृत गर्दै रिपोर्टले देशभरका साना बैंकहरूलाई बैंकिङ प्राविधिक सहयोग उपलब्ध गराउने सी–एज टेक्नोलोजी यस साइबर आक्रमणबाट नराम्ररी प्रभावित भएको जनाएको छ । यद्यपि यस साइबर आक्रमणको बारेमा सी–एज टेक्नोलोजीले कुनै टिप्पणी गरेको छैन। यस विषयमा भारतीय रिजर्भ बैंकले कुनै वक्तव्य जारी गरेको छैन।

यो साइबर आक्रमणलाई ध्यानमा राख्दै भारतको भुक्तानी प्रणालीको निरीक्षण गर्ने संस्था नेसनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाले यस कम्पनीको काम अस्थायी रूपमा बन्द गरेको छ। एनपीसीआइले बुधबार जारी गरेको विज्ञप्तिमा सी–एज टेक्नोलोजीलाई केही समयका लागि प्रतिबन्ध लगाइएको र अर्को आदेश नभएसम्म यो कम्पनी खुद्रा भुक्तानी प्रणालीबाट टाढा रहने जनाएको छ ।

एनपीसीआईका अधिकारीहरुका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकहरुले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । यसैलाई मध्यनजर गर्दै मुलुकको भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन करिब तीन सय साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको यस विषयमा सम्बन्धित स्रोतले बताएको छ ।

भारतमा लगभग १५ सय सहकारी र क्षेत्रीय बैंकहरूको एक विशाल नेटवर्क छ, जसले मुख्य रूपमा प्रमुख शहरहरू बाहिरका ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्दछ। यी साना बैंकहरू मात्र सी–एज टेक्नोलोजीहरूमा ¥यान्समवेयर आक्रमणबाट प्रभावित भएका छन्।

साइबर आक्रमणमा परेका यी बैंकको देशको कुल भुक्तानी प्रणालीमा ०.५ प्रतिशत मात्रै हिस्सा रहेको स्रोतले जनाएको छ । यस्तो अवस्थामा जनतालाई यसबाट धेरै समस्या नपर्ने भए पनि भुक्तानी प्रणालीमा यसको प्रभाव केही समय अवश्य देखिन सक्छ ।


सम्बन्धित समाचार