Logo

२० साउन,चितवन । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशंका गरिएको छ । उक्त बाघ खोजी गर्न ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको कार्कीले बताए । उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।

नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्यांक क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले बताए । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा. विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताए । सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ । सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरू गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिए ।

‘बाघ कहाँबाट आयो यकिन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशंका गरिएको छ’, उनले भने ।

आज बिहान हिँड्दै जाँदा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँचवटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

लम्सालका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ ।

श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएको चिकित्सकले सुनाए ।

 


सम्बन्धित समाचार