Logo

२० साउन,काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनै पनि काम नगर्ने बताउनुभएको हो।

आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै उहाँले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताउनुभयो।

उहाँले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइबल, कुरान जस्तो असंशोधनीय दस्ताबेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो।

उहाँले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो। नेकपा (एमाले), नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीको यो समीकरणले भनेको संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। उहाँले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरूप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘कतिपयले अहिले पनि हाम्रो विरुद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन्। हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौँ। यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वास मात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने। संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिष्कृत हुँदै जाने र परिमार्जन हुँदै दस्ताबेज हो भन्ने कुरा अझै त्यसमा पनि भ्रम फिँजाएर हिँड्न खोज्ने तत्त्व सक्रिय छन्।

नेपाली कांगेस र नेकपा एमालेको समीकरणले संविधान संशोधन जस्तो कुरा गर्दा यो प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरूले होइन। यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो। त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन।’’

प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दाबी समेत गर्नुभयो।


सम्बन्धित समाचार