Logo

२१ साउन, वीरगञ्ज । बीरगन्जस्थित नेशनल मेडिकल कलेजले पछिल्लो समय प्रहरीसंग हिमचिम बढाउन खाले कार्यक्रमहरु गर्न थालेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसंग पछिल्लो समय हिमचिम बढाउन थालेको पाइएको छ ।

मेडिकल कलेजको ल्याबबाट गुणस्तरहीन केमिकल बरामद भएसंगै स्वामित्वको बारेमा दाजुभाइबिच विवाद चर्किएपछि कलेजले आफ्नो रणनीति परिवर्तन गरेको बताइन्छ । कलेजमा विवाद उत्पन्न हुँदा सहयोग पुग्ने हेतुले कलेजले प्रहरी प्रशासनसंग हिमचिम बढाउन थालेको जानकार बताउँछन् । कलेज अध्यक्ष डा. जैनोद्दिन अन्सारीका छोरा एवम एमडी शहनवाज हुसेन म्याद नाघेको केमिकलसहित पक्राउ परेपछि अझ बढी प्रहरी प्रशासनसंग सम्बन्ध बढाउन थालिएको कलेजका एक कर्मचारी बताउँछन् । उनका त्यसका पछिल्लो २ घटनाक्रमले त्यसको पुष्टि गर्छ ।

त्यो घटना हो, यसअघि सशस्त्र प्रहरी बल पर्सासंग कलेजले गरेको एक सहमति । साउन ८ गते कलेजका एमडी शहनवाजले बारा र पर्साका सशस्त्र प्रहरी प्रमुखसंग एक सम्झौता गरे ।
जुन सम्झौतामा उनले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सशस्त्र प्रहरी र परिवारलाई भारी मात्रामा छुट दिने सम्झौता गरे । यो समझदारी पत्रमा सशस्त्र प्रहरी प्रमुख र कलेजले संयूक्तरुपमा हस्ताक्षर ग¥यो । त्यसपछि अर्को घटना हो, सोमबार अर्थात् ( आज) को । नेशनल मेडिकल कलेजले आज नेपाल प्रहरीसंग सम्बन्ध बनाउनको लागि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा नेशनल मेडिकल कलेजले बाल सुधार केन्द्रमा स्वास्थ्य परीक्षणको आयोजना गरेको छ, जहाँ १३५ जनाको चेकजाँच गरिएको थियो । यहाँ चाखलाग्दो विषय के हो भने  पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलको पनि उपस्थिति थियो ।

यी २ वटा उदाहरणले कलेजले एकाएक प्रहरी प्रशासनसंग आफ्नो हिमचिम बढाइरहेको छर्लङ पारिरहेको छ । कलेज व्यवस्थापकसंग भने यो बारेमा प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेन ।


सम्बन्धित समाचार