Logo

२१ साउन, वीरगञ्ज । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।

दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको जनाएको छ । साथै नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरुले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्नसमेत दूतावासले आग्रह गरेको छ । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा दिइएको आरक्षण सुविधाको विरोधमा गत महिना विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।

सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेपछि पनि विद्यार्थीले आन्दोलन जारी राखेका हुन् । सोही प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । सुरुमा आरक्षण विरोधी आन्दोलनको रूपमा भएको आन्दोलन अहिले सरकार विरोधी आन्दोलनमा बदलिएको छ ।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।


सम्बन्धित समाचार