Logo

२१ साउन,काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको त्यहाँका सेना प्रमुखले पुष्टी गरेका छन् । उनले अब देश संचालनका लागि अन्तरिम सरकार बन्ने बताएको त्यहाँको प्रमुख अखबार प्रथम आलोले जनाएको छ ।

प्रधानसेनापति जनरल वकार–उज–जमानले देशवासीको नाममा सम्बोधन गर्दै अहिले देशमा राजनीतिक संक्रमणकाल चलिरहेको बताएका छन् । उनले अन्तरिम सरकार बन्ने बताए । उनले जारी प्रदर्शनका क्रममा ज्यान गुमाउने र घाइतेले न्याय पाउने बताउँदै भने ‘सबै हत्याको न्याय हुनेछ। सेनामा विश्वास गर्नुहोस्।’

देशवासीका नाममा सम्बोधन गर्दै सेना प्रमुखले भने ‘देशमा शान्ति सुव्यवस्था कायम होस् । तपाई मलाई विश्वास गर्नुहोस्, हामी सँगै काम गरौं। कृपया सहयोग गर्नुहोस्। लडाइँ गरेर केही पाउने छैनौं । द्वन्द्वबाट बच्नुहोस्। हामीले मिलेर सुन्दर देश बनाउनेछौं ।’

देशकी प्रधानमन्त्री शेख हसिनाले यसअघि नै देश छाडेकी छिन् । विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकै १०० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीले देश छाडेकी हुन् । प्रदानमन्त्रीले देश छाडेसँगै प्रदर्शनकारीहरूले प्रदानमन्त्री निवास बंगभवन र राष्ट्रपति निवास गणभवन कब्जा गरेका छन् ।

प्रदर्शनकारीहरूले हसिनाको राजीनामाको माग गरिरहेका थिए । बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

बीबीसीका अनुसार शेख हसिना बंगलादेशको प्रधानमन्त्री पद त्यागेर भारतको अगरतला सहर गएकी छिन् । हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री थिइन् ।

यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।

यसअघि बंगलादेशमा जुलाई महिनादेखि नै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग छन् ।

हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।

यसमा सरकारको कर नतिर्न जनतालाई अपिल गरिएको थियो । रिपोर्टका अनुसार हजारौं आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा ढुंगामुढा गरिरहेका छन् ।


सम्बन्धित समाचार