Logo

२१ साउन,सिम्रौनगढ । नियमित विद्युत् सप्लाइको माग गर्दै बारा पचरौताका स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरु शनिबारदेखि नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रविरुद्ध आन्दोलन आन्दोलित भएका हुन् ।

सोही अनुरुप आज तेस्रो दिन समेत उनीहरुले नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढको मुल गेट अगाडी धर्ना दिएका छन् । लामो समयदेखिको खडेरी समस्या, खेती योग्य जमिनमा समेत रोपाइँ नहुनु, पिउने पानीको हाहाकार लगायतका समस्याबिच अघोषित लोडसेडिङ हुँदा मारमा परेको पीडितको गुनासो छ ।

केहि समयका लागि लाइन आएपनि भोल्टेज अभावले कृषि मोटर पनि नचल्ने तथा सम्पूर्ण विद्युतीय् कामहरु ठप्प हुने भएकाले आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । पीडितहरुले कुलमान घिसिङ मुर्दावाद, प्रादेशिक प्राधिकरण प्रमुख मुर्दावाद, सिम्रौनगढ प्राधिकरण प्रमुख मुर्दावाद, हाम्रो माग पुरा गर लगायतका नारा लगाउदै प्रर्दशन समेत गरेका थिए । बतरा फिडर, पचँरौता फिडर र सिम्रौनगढ फिडरमा नियमित विद्युत् सप्लाइ र पूर्ण भोल्टेज उपलब्ध गराउन माग गरेको बताएका छन् ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाराले भोली पीडितहरुलाई वार्ताका लागि बोलाएको छ । प्रशासनले वार्तामा आउन भनेलगत्तै आन्दोलनकारीले धर्ना स्थगित गरेका छन् । यद्यपी आफूहरुको माग सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने पचरौता नगरपालिकाका मेयर जलान्धर सिंहले बताए ।

आन्दोलनमा पचरौताको ३०० जना स्थानीयको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार