२२ साउन,काठमाडौं । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताउनुभएको थियो । हिंसक प्रदशर्नका क्रममा कैयौँ प्रहरी अधिकारी पनि घाइते भएका छन् । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि बेलायतमा हिंसक प्रदर्शन चर्किएको हो ।
प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक कैयौँ ठाउँमा आमनेसामने आएका थिए । प्रदर्शनकारीहरूले आप्रवासी मुस्लिम लक्षित आक्रमण गरिरहेका छन् । उनीहरूले मस्जिदमा पनि आक्रमण गरिरहेका छन् ।
यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले सहयोग गर्नै बताउनुभएको छ । एजेन्सी