Logo

२० साउन,काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेका छन् । बालुवाटारमा मुख्यमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रदेशमा ल्याइएका दीर्घकालीन योजनाहरुमा सहयोग पाउने हेतुले मधेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीसंग भेटघाट गरेको प्रदेश सरकारले जनाएको छ । सोमबार (हिजो) अबेर राती प्रधानमन्त्री ओलीसंग भएको भेटघाटमा मुख्यमन्त्री सिंहले प्रदेशको समस्याको बारेमा ब्रिफिङ गरेका थिए ।

भेटघाटमा मुख्यमन्त्री सिंहले प्रदेश विकासका मामिलामा धेरै पछाडि परेको भन्दै प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्न प्रधानमन्त्रीसंग आग्रह गरेका थिए । मुख्यमन्त्री सिंहका अनुसार प्रदेशको विकासमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनका लागि २२ बुँदे ज्ञापन पत्रसमेत बुझाइएको छ ।

प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा जानकी मन्दिर विकासको कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङगणको सौन्दर्यकरण गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी हुलाकी राजमार्ग अन्तर्गत कमला पुलको लगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य शिघ्र पुरा हुनुपर्ने, निर्माणाधीन पूर्व–पश्चिम रेलमार्ग प्रदेशका प्रमुख शहरसंग सम्पर्कको व्यवस्था हुनुपर्ने माग राखिएको छ भने जनकपुर जयनगर रेल्वे यातायातमा मालबाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने माग गरेको छ ।

यसको पाँचौं नम्बरमा जनकपुरस्थित १२ बिघा (रङभूमि) लाई सुव्यवस्थित गर्न थप पहल गरिदिनुपर्ने माग गरिएको छ भने छैठो नम्बरमा मधेश प्रदेशका ८ वटा जिल्लाहरु भारतीय नाकासंग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटक कोरिडोरको निर्माण गरिदिनु हुन आग्रह गरिएको छ ।

यसैगरी ८ औं नम्बरमा भारतीय रेल नेटवर्कसंग जोडिएका २ वटा शहर जनकपुर र बीरगन्जमा व्यापारका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध मिलाउन माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले २२ बुँदे ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारको मागप्रति अहिलेको सरकार गम्भीर भएको प्रतिबद्धता जनाए ।


सम्बन्धित समाचार