Logo

२३ साउन,काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वीरगञ्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरुको अनुगमन एवं अध्ययनका लागि पुगेका उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताए ।

अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५÷१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन शुरु गरेको पाएको बताए । उनले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताए ।
उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरु उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ । हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५÷१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ । यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ । मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ । मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमूना कृषि औजारहरु बनाउन परीक्षण गरेको बताए । उनले उत्पादन शुरु गर्न आफूहरु तयार रहे पनि विद्युत प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफरर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताए ।

सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको अवलोकन गरेका थिए ।


सम्बन्धित समाचार