Logo

२५ साउन, बारा । बाराको सिमरा स्थित सिमरा पब्लिक ईंगलिस स्कुल (एसपिइएस) ले कक्षा १२ मा उत्कृट नतिजा ल्याएका १४ जना विद्यार्थीलाई वर्षभरिको शुल्क फिर्ता गरेर सम्मान गरेको छ । कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९१ जीपीए हासिल गरी मधेश प्रदेश मै प्रथम हुन सफल छात्रा काजल कुमारी मण्डल लगाएत उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थीलाई सम्मान सहित शुल्क फिर्ता गरेको हो ।

विद्यालय परिसरमा बिहिवार भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेश टपर काजल कुमारी मण्डलले नतिजा तथा विद्यालयको सम्मानले थप उत्प्रेरीत गरेको बताइन् ।

उनले विद्यालयको सुविधा सम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको भन्दै दृढ इच्छा शक्ति र निरन्तरको लगनशीलता भए सफलता हासिल हुनेमा कुनै शंका नरहेको बताइन् ।

सिमरा पब्लिक स्कुलको प्रधानध्यापक बसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उत्कृष्ट निजि विद्यालयको रुपमा एसपिइएस स्कुलको नाम लिन पाउँदा निकै खुशी लागेको बताए । उनले विद्यालयको शानलाई निरन्तर राख्न शिक्षक एवम् विद्यार्थीलाई डटेर मेहेनत गर्न आग्रह गरे । साथै उनले पछिल्लो समय बढेको कक्षा १२ पश्चात् उच्च शिक्षा अध्ययनका लागि विदेशीने परम्पराको अन्त्य गर्न समेत विद्यार्थीलाई अनुरोध गरे थियो ।

उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले भने “जीतपुरसिमरा उपमहानगरपालिकाको कुनै पनि विद्यालय बाट कक्षा १२ को परिक्षामा ए प्लस नतिजा ल्याएर उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई छ, तपाईंहरुलाई सिमरा कलेजमा बिबिएस अध्ययनका लागि भर्ना शुल्क बाहेक अन्य कुनै पनि अन्य कुनैपनि शुल्क लाग्ने छैन ।”

एसपिइएसबाट २०८० सालको कक्षा १२ को परिक्षामा ७७ जना विद्यार्थीले परिक्षा दिएकामा ६९ जना विद्यार्थी उतिर्ण भएको एसपिइएस प्लस टु कोर्डिनेटर सुमन भट्टराईले बताए । सुजल पौडेल ३.६२ ,स्वस्तिका श्रेष्ठ ३.६४, सबीन घले ३.६४, इन्छु कुमारी संगतान ३.६४, अंशु शर्मा बास्कोटा ३.६४ प्रजवन लामा ३.६५, दिपा पाठक ३.६६, दिक्ष्या न्यौपाने ३.७०, आशिका लामिछाने ३.७०, बिबश श्रेष्ठ ३.७०, दिपक ठाकुर ३.७५, राजन श्रेष्ठ ३.८१ र कृषा भट्टले ३.८८ जीपीए ल्याएको कोर्डिनेटर भट्टराईले जानकारी दिए ।

कार्यक्रममा जीतपुरसिमराका पहिलो चार्टर एकाउन्टेन्ट (सीए) सरोज भट्टलाई समेत सम्मान गरिएको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगाएत विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार