Logo

२६ साउन, काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा ६१ यात्रु सवार एक विमान दुर्घटना भएको छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ ।

भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो ।

दुर्घटना भएको ठाउँ

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देखिएको छ । दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ ।

प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो । स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन्।

भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार विमानमा सवार ५७ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ । अघिल्लो विज्ञप्तिमा ५८ यात्रु रहेको बताइएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस दुखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । र विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ । विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।


सम्बन्धित समाचार