Logo

२७ साउन,काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले देशमा अराजकता सिर्जना गर्न खोज्नेहरुलाई कडा चेतावनी दिएका छन् । उनले मुलुकमा संकट सृजना गर्नु ‘सबैभन्दा ठूलो अपराध’ भएको बताए । सेनाले त्यस्ता प्रयासलाई विफल पार्ने र देशको रक्षा गर्ने उनले बताए।

पाकिस्तानी अखबार द ट्रिब्यून एक्सप्रेसको रिपोर्टका अनुसार सेना प्रमुखको यो बयान सामाजिक सञ्जालमा पाकिस्तानको अवस्थालाई बंगलादेशसँग तुलना गरिएको पोस्टपछि आएको हो ।

इस्लामाबादमा राष्ट्रिय उलेमा सम्मेलनमा बोल्दै मुनीरले भने – ‘यदि कसैले पाकिस्तानमा अराजकता फैलाउने प्रयास गर्छ भने, म अल्लाहको कसम खान्छु, हामी उनीहरूसँग लड्नेछौं।’ उनले अल्लाहको कृपाले पाकिस्तानी सेना अशान्ति र अराजकता हटाउन सफल हुने विश्वास व्यक्त गरे।

मुनीरले नाम नलिई भारतमाथि पनि आरोप लगाए । उनले भने– ‘दुई राष्ट्र सिद्धान्तलाई बङ्गालको खाडीमा डुबाइदिनेहरू कहाँ छन् ?’ सेना प्रमुखले भने ‘विश्वको कुनै पनि शक्तिले पाकिस्तानलाई हानी गर्न सक्दैन किनभने यो टिक्नका लागि डिजाइन गरिएको हो।’

मुनीरले भने ‘यदि तपाई देश कति महत्त्वपूर्ण छ भनेर जान्न चाहनुहुन्छ भने इराक, सिरिया र लिबियालाई हेर्नुहोस्। पाकिस्तानको उपस्थिति सधैं रहनेछ किनभने यो टिक्नको लागि बनाइएको हो।’ उनले भने ‘लाखौं असिम मुनीर, लाखौं नेता र लाखौं विद्वानले यस पाकिस्तानका लागि बलिदान दिएका छन् किनभने यो देश हामीभन्दा महत्त्वपूर्ण छ।’

प्रधानसेनापतिले हिंसात्मक घटनाका लागि सामाजिक सञ्जाललाई दोष दिएका छन् । उनले पछिल्ला केही वर्षमा सामाजिक सञ्जालमा सेनाको आलोचना बढी भएको बताए । जसका कारण मुलुकको राजनीतिक र सामाजिक संरचना खस्कँदै गएको बताउँदै उनले यस्ता प्रयास गर्नेलाई पक्राउ गरी कानुनी कारबाही भइरहेको उनले बताए ।


सम्बन्धित समाचार