Logo

२७ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग आग्रह गरेका छन् ।
राजधानीमा जारी स्थायी कमिटी बैठकमा लिखित प्रस्ताव राख्दै शर्माले प्रचण्डलाई संरक्षकको भूमिकामा रहन आग्रह गरेका हुन् । नेतृत्व परिवर्तनका लागि जनार्दनले तीन विकल्प अगाडि सारेका छन् ।
‘प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको नेतृत्व उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माको पहिलो प्रस्तावमा उल्लेख छ ।
दोस्रो विकल्पको रूपमा प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने शर्माले प्रस्ताव बैठकमा राखेका छन् ।

तेस्रो विकल्पको रूपमा केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाइ महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित नयाँ नेतृत्व चयन गर्न प्रस्ताव गरिएको छ ।

शर्माले आफ्नो प्रस्तावलाई आग्रह पूर्वाग्रहको रूपमा नलिई पार्टी निर्माणको बहसको रूपमा लिन आग्रह गरेका छन् । यसअघि नेता हरिबोल गजुरेलले पनि पार्टी पदाधिकारीले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए ।
यसअघि बसेको पदाधिकारी बैठकका अध्यक्ष प्रचण्डले नेतृत्वमा बसिराख्ने इच्छा नभए पनि छाडिहाल्ने परिस्थिति नभएको बताएका थिए ।


सम्बन्धित समाचार