Logo

२७ साउन,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकले तोकिएको समयमै महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै कोइरालाले महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । ‘मेरो आग्रह– सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं ।

पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अबिलम्ब समितिहरू बनाऔं,’ कोइरालाले भने, ‘१४औं महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् ।’

कुनै पनि बहानामा महाधिवेशन सार्ने काम भएमा त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने कोइरालाले बताए । ‘ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु,’ उनले भने ।

कोइरालाले कांग्रेस–एमाले गठबन्धनले देशलाई निकास दिनुपर्ने बताए । दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ,’ कोइरालाले बैठकमा भने ।


सम्बन्धित समाचार